पाल्पा । पाल्पामा हालसम्म करिब ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । असारको मध्यभागसम्म आइपुग्दा जिल्लाका केही स्थानमा मात्रै रोपाइँ सुरु भएको छ । विगतका वर्षको तुलनामा यस वर्ष मनसुन ढिला सुरु भएकाले असार १५ सम्म धान रोप्ने काम कम भएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउँछिन् । “
समयमा नै वर्षा नहुँदा रोपाइँ कम क्षेत्रफलमा भएको छ, केही ठाउँमा रोपाइँ सुरु भए पनि आकाशे पानीकै भरमा अधिकांश जमिनमा रोपाइँ गरिने भएकाले पानी पर्याप्त परेपछि रोपाइँको चहलपहल बढ्छ”, उनले भनिन् । पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोला नजिकका खेतमा रोपाइँ सुरु भएको छ । जिल्लामा असारको पहिलो हप्ताबाट रोपाइँ अगाडि बढेको छ । बाँझो जमिन, खोला र नहरका पानी लाग्ने जमिनमा धान रोप्ने काम भएको छ ।
मकैखेती भएका जमिन, आकाशकै पानीमा निर्भर जमिनमा असारको तेस्रो हप्तापछि धान रोपाइँ सुरु हुनेछ । हालसम्म पाल्पामा माडीफाँट, दोभान, अर्गली, रम्भा, पूर्वखोला, बगनासकाली लगायतका क्षेत्रमा रोपाइँ सुरु भएको छ । पाल्पामा करिब आठ हजार छ सय २० हेक्टर क्षेत्रफलमा रोपाइँ गरिँदै आएको छ । जिल्लाको माडीफाँट, अर्गली, रामपुर, हुँगी, हेक्लाङ, पूर्वखोला, दोभानलगायत
क्षेत्रमा धान उत्पादको मुख्य पकेट क्षेत्र मानिन्छ । पछिल्लो समय गाउँ–गाउँमा कृषि यान्त्रिकरणको विकासले पनि रोपाइँ छिटोछरितो हुने गरेको छ । सावित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुलीलगायत धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषक उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । युवा जनशक्ति पलायन, सीमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकाशे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउबिजन तथा मलखाद एवं अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञले बताएका छन् ।
आज देशभर राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ गते ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ । धान उत्पादनमा आधुनिक प्रविधि किसानलाई सिकाउन, असार १५ लाई उत्सवका रुपमा मनाउन कृषि ज्ञानकेन्द्र पाल्पाले मदनपोखरा बहुप्राविधिक शिक्षालय तानसेन र तानसेन नगरपालिकाको सहकार्यमा आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रम आयोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्