काठमाडौं । कानूनमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनको सरकार नढल्ने दाबी गरेका छ्न् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेप्रति लक्षित गर्दै गुरुङले भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने भन्दै कटाक्ष गरे ।
एमाले सत्तामा जानका लागि भोकाइरहेको उनको आरोप थियो । वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइलहरु खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको उनले बताए । गुरुङले भने, ‘अहिले गठबन्धनको सरकार ढल्छ भन्ने बजारमा हल्ला चलेको सुन्छु । पार्टी सभापतिको भरोसा यही गठबन्धनलाई अघि बढाउने कुरा छँदैछ ।
ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो । हामी ठीक मिसनमा छौँ । ठीक ढंगमा छौं ।’
प्रतिक्रिया दिनुहोस्