काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत नपाएपछि एमाले संघ र प्रदेश दुवैतर्फ प्रतिपक्षमा पुगेको छ।
मसिर ४ को चुनावपछि कांग्रेससँगको गठबन्धन भत्काएर माओवादी केन्द्रसहितको समीकरण बनाउँदा ७ मध्ये ४ वटा प्रदेश सरकारको नेतृत्व गरेको एमाले अहिले सबै प्रदेशबाट बाहिरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा बनेको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय मोर्चामै फर्किएसँगै संकट बढेको थियो।
एमालेको प्रस्तावित व्यक्तिलाई राष्ट्रपति मान्न नसक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावअघिकै कांग्रेस नेतृत्वको गठबन्धन ब्यूँताएपछि एमाले सरकारबाट बाहिरिने क्रम सुरू भयो ।
त्यहीकारण एमालेले यसअघि नै लुम्बिनी प्रदेश सरकार, गण्डकी प्रदेश सरकार र सुदूरपश्चिम प्रदेश सरकार गुमाइसकेको छ।
लुम्बिनीमा अहिले पुरानै गठबन्धनअनुसार नेपाली कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री छन्। गण्डकीमा पनि कांग्रेसकै सुरेन्द्र पाण्डे मुख्यमन्त्री छन्।
उता सुदूरपश्चिममा पनि एमालेका रावलको सत्ता गुमेपछि कांग्रेसका कमल शाहले अहिले सरकारको नेतृत्व गरिरहेका छन्।
यसअघि नै गत फागुन १५ गते एमाले केन्द्रीय सरकारबाट पनि फिर्ता भएको थियो। ९ मन्त्रीसहित केन्द्रीय सरकारमा गएको एमाले दुई महिनाबीचमा संघीय संसद्को प्रतिपक्षमा पुगेको थियो।
यस्तोमा लुम्बिनीबाट लीला गिरी, गण्डकीबाट खगराज अधिकारी र सुदूरपश्चिमबाट राजेन्द्र रावलले केही महिनामै मुख्यमन्त्रीबाट बाहिरिनु परेको थियो।
उता प्रदेश १ मा भने हिक्मत कार्कीले आफ्नो सत्ता ६ महिनासम्म लम्ब्याउन सके। तर नयाँ बजेट ल्याउन नपाउँदै माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कार्की पनि शुक्रबारबाट सत्ताबाट बाहिरिएका छन्।
यससँगै संघीय सरकारको दोस्रो ठूलो र अधिकांश प्रदेशमा बलियो पडक भए पनि एमाले अब प्रतिपक्षी बेन्चमा पुगेको छ।
प्रतिक्रिया दिनुहोस्