Ads

भरतपुर महानगरपालिकाले मनायो राष्ट्रिय धान दिवस


चितवन । भरतपुर महानगरपालिकाले राष्ट्रिय धान दिवस मनाएको छ । महानगरको कृषि तथा पशुपक्षी महाशाखाको आयोजनामा भरतपुर महानगरपालिका–९ स्थित त्रिपुरेश्वर कृषि सहकारीको जग्गामा धान रोपाइँ महोत्सव गरिएको हो ।सो अवसरमा महानगर प्रमुख रेनु दाहालले उपकरणबाट धान रोपेकी छन् । त्यसअघि प्रमुख दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले धानलाई पूजाआजा गरेर विधिवत्रुपमा रोपाइँको सुरुआत गरेका थिए ।

भरतपुर भ्रमण वर्ष सन् २०२४ को प्रचारात्मक अभियानसँगै धान दिवस मनाइएको हो । सोही अवसरमा जनप्रतिनिधि र स्थानीय युवाको हिले दौडसमेत गरिएको छ । रोपाइँ कार्यक्रममा महानगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी तथा पर्यटन क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । धान रोपाइँ गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानगरप्रमुख दाहालले कृषि क्षेत्रको विकासका लागि आफू प्रमुख भएदेखि काम गरिरहेको

बताइन् । सिँचाइ नपुगेका ठाउँमा सिञ्चित गर्ने, कृषि उपकरण अनुदानमा वितरण गर्ने, दूध, मल र बीउमा अनुदान दिनेलगायत काम भएको उनको भनाइ छ । दाहालले भनिन्, “कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि भरतपुर महानगपालिकाले कृषकलाई बीउ, उपकरणलगायत सामग्रीमा सहयोग गरिरहेको छ ।” कृषि क्षेत्रको विकासका लागि थप योजना गरिने उनले बताइन् ।

उपप्रमुख अधिकारीले भरतपुरको सहरी क्षेत्रबाहेकका ग्रामीण क्षेत्रभित्र पहिले सिँचाइको अभावमा कृषिजन्य उत्पादन सन्तोषजनक नहुने गरेको भन्दै अहिले सुख्खा टाँडी हराभरा बनेको बताइन् । उनले भनिन्, “अबको केही वर्षभित्रमै हिउँदमा सबैतिर सिँचाइ पु¥याउने गरी महानगरले काम गरिरहेको छ ।”  कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष यमलाल कँडेल, वडा नं ८ का वडाध्यक्ष जीवनाथ कँडेललगायतको सहभागिता थियो । कार्यक्रममा सन् २०२४ लाई ‘भ्रमण वर्ष’का रुपमा मनाउन प्रचारात्मक अभियानमा लाग्ने जोड दिइएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू