Ads

४ वटा प्रदेशमा सरकार बनाएकाे एमालेले ६ महिना नपुग्दै गुमायाे सबै नेतृत्व


काठमाडौँ । नेकपा एमाले सत्ताविहीन भएको छ । केन्द्रमा त सत्ताविहीन थियो नै तर शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत गुमाएर पदमुक्त भएपछि एमाले सबै प्रदेशमा नेतृत्व गुमाएकाे हाे ।

०७९ को पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका कार्की एक मत कम हुँदा पदमुक्त भएसँगै एमाले केन्द्रदेखि सबैतिर प्रतिपक्ष बनेको छ। कार्कीलाई बहुमतका लागि ४७ मत आवश्यक थियो तर कार्कीको पक्षमा ४६ मत मात्र पर्यो भने विपक्षमा ४३ मत पर्यो ।

त्यस्तै कोशी प्रदेशमा एमालेको सरकार ढलेसँगै अब कसकाे सरकार बन्छ भन्ने अन्यौलता बढेको छ । उता विपक्षीहरूको पक्षमा पनि बहुमत छैन । त्यसकारण अबको सरकार कसकाे नेतृत्वमा बन्छ भन्ने प्रश्न सबैको मनमा उब्जिएको छ ।

एमालेको सरकार कहिले बन्यो, कहिले गुम्यो ? 

गएको पुस १० गते तत्कालीन चुनावी गठबन्धन भत्काउँदै एमालेले सात दलको समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनायो। प्रचण्ड सरकार बनेसँगै एमालेले केन्द्रीय सरकारमा उपप्रधानसहित आठ मन्त्री पायो ।  एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपपप्रधानसहित अर्थमन्त्री बने ।

नयाँ गठबन्धन निर्माण हुँदा एमालेले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको मुख्यमन्त्री पाएकाे थियाे ।  तर राष्ट्रपतिको निर्वाचनमा चुनावी गठबन्धन नै ब्युँतिएपछि गएको फागुन १५ गते एमाले केन्द्रीय सरकारबाट बाहिरियो । ६४ दिनमा नै केन्द्रीय गठबन्धन फेरिएपछि एमालेले अन्य प्रदेशको समेत नेतृत्व गुमायाे।

सुदूरपश्चिममा भने गठबन्धन नटुट्दै एमाले सत्ताविहीन बन्न पुगेको थियो । पुस २७ गते सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएको एक महिना नपुग्दै माघ २६ गते विश्वासको मत पाउन सकेनन् त्यसपछि सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भए ।

त्यस्तै, लुम्बिनीमा पुस २७ मा एमालेका लीला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए तर वैशाख ११ मा गिरीले प्रदेशको विश्वास जित्न सकेनन् र त्यहाँ पनि एमालेको नेतृत्व गुम्यो । लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी वैशाख १४ मा मुख्यमन्त्री बने । त्यस्तै गण्डकीमा पनि पुस २५ गते एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका थिए । तर प्रदेशसभाबाट अधिकारीले विश्वासको मत नपाएपछि वैशाख ९ गते पदमुक्त भए र कांग्रेसका सुरेन्द्रराज पाण्डे वैशाख १४ गते नयाँ मुख्यमन्त्रीमा नियुक्त भए ।

Ads

सम्बन्धित पोष्टहरू