काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले संसदमा आफ्नो तस्वीर नराखेको भन्दै गुनासो गरेकी छन् । ६५ औं संसद दिवसको अवसरमा संघीय संसद सचिवालयको समन्वय तथा पूर्वसांसद मञ्च नेपालको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख राना मगरले सभामुखको तस्वीर राख्ने तर उपसभामुखको किन नराख्ने भन्दै प्रश्न गरेकी हुन् ।
केही समयअघि सिंगापुरको संसद भवनमा गरेको भ्रमणबारे जानकारी गराउँदै उनले संसदमा राखिएका सभामुखका तस्वीरहरुका बारेमा बताएकी थिइन् । उनले भनिन् – ‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ ।
त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्युले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राखिएको छ अभिलेखको रूपमा ।’नेपालमा उपसभामुखलाई हेला गरिएको गुनासो उनको रहेको छ । यस्तो कुराको मनन गर्नुपर्ने आवश्यकता रहेको समेत उनले औंल्याएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्