दाङ । विपक्षी दल एमालेको अवराेधपछि गत बुधबार स्थगित लुम्बिनी प्रदेशको बैठक आज बस्दैछ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रदेशसभामा प्रस्तुत गरेको करिब दुई हप्तापछि गत बुधबारका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक विपक्षी दलको विरोधका कारण स्थगित भएको थियाे ।
साे बैठकको प्रारम्भमै एमालेले बजेटउपर विरोध जनाएपछि छलफल नै नगरी आइतबारसम्मका लागि स्थगित भएको हाे । यसअघि असार १० गते छलफलका लागि आह्वान गरिएको बैठक बजेटमा सहमति जुट्न नसकेपछि बैठक सारिएको थियाे । प्रदेश सरकारलेप्रस्तुत गरेको बजेट पूर्वाग्रही र बेथिति निम्त्याउने खालको रहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले संशोधन नगरी पास हुन नदिने बताएको छ।
गठबन्धन सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता लीला गिरीले बजेट गतिहीन र सङ्घीयताको खिलापमा रहेको बताए । उनले सरकारले प्रस्तुत गरेको बजेटले समृद्धिको लक्ष्यलाई आत्मसात् नगरिकन आएको भन्दै यही अवस्थामा बजेटलाई स्वीकार गर्न नसिकिने बताए । प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्