Ads

ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग


पाँचथर । ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन् ।बाढीपहिराले गरेको क्षतिको निरीक्षणका लागि आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट गरी ताप्लेजुङको टोलीले मानवीय सङ्कट उत्पन्न हुन लागेको जनाउँदै ध्यानाकर्षण गराएका हुन् ।

निरीक्षणका क्रममा पाँचथरको याङवरक गाउँपालिका–६ परेवाडाँडामा शनिबार मन्त्री ज्वालालाई भेट गर्दै ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङसहितको टोलीले मानवीय सङ्कट आउनबाट रोक्न आग्रह गरेको हो । प्रजिअ चेम्जोङका अनुसार यही असार २ गते बाढीले हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङमा १५ दिन पुग्ने खाद्यान्न मौज्दात रहेको आकलन गरिएको थियो । हेवाखोला डाइभर्सनबाट केही घन्टा यातायातका साधन चल्दा थप केही खाद्यान्न र पेट्रोलियम पदार्थ ताप्लेजुङ भित्रिएको थियो । यसरी जम्मा भएको खाद्यान्न र पेट्रोलियम पदार्थ सकिन लागेको उनले जानकारी दिए ।

“हेवाखोला पुलका कारण मेची राजमार्गमा सवारीका साधन चल्न नसक्दा मानवीय संकट आउन लागेको छ”, उनले भने , “त्यसैले मेची राजमार्ग र तमोर करिडोर चाँडोभन्दा चाँडो सञ्चालन गराउन मन्त्रीज्यूमार्फत म विशेष आग्रह गर्दछु ।”ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापा जिल्लाको अवस्था दयनीय बनेको बताए । “पेट्रोलियम पदार्थ नपाइँदा यातायात अवरुद्ध हुन लागेको छ । चामलको मौज्दात सकिन लागेको छ”, उनले भने  “अब चार–पाँच दिनसम्म मालवाहक सवारी ताप्लेजुङ नआउने हो भने यहाँ समस्या हुन सक्छ । अहिले खाना पकाउने ग्यासको समस्या भएको छ ।”

डाइभर्सन सञ्चालनको प्रयास प्रभावकारी नभएको अध्यक्ष थापाले गुनासो गरे । यस्तै बेलीब्रिज निर्माणमा पर्याप्त जनशक्तिको परिचालन गर्न ताप्लेजुङवासीले आग्रह गरेका छन् । “असार ३ गते १०–१२ दिनमा बन्छ भनेको बेलीब्रिज अझै १०–१५ दिनपछि मात्रै सम्पन्न हुने देखिन्छ”, अध्यक्ष थापाले भने , “यसमा सरकार गम्भीर बनेर लाग्नुपर्यो ।”प्रजिअ चेम्जोङका अनुसार बाढीपहिराका कारण ताप्लेजुङमा तीन जनाको मृत्यु भएको छ भने तीन घाइते छन् । यस्तै तीन अझै बेपत्ता छन् । ताप्लेजुङमा बाढीपहिराका कारण सिदिङ्वा, सिरिजङ्घा र मैवाखोला गाउँपालिकाका गरी ३३  घरमा पूर्ण क्षति भएको छभने उच्च जोखिममा एक सय ११  घर छन् ।

विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरू आफन्त, विद्यालय र टेन्टमा आश्रय लिएर बसेका छन् । विस्थापितलाई नेपाल रेडक्रस सोसाइटी, प्रदेश र जिल्ला विपद् व्यवस्थापन कोषबाट सहयोग हुँदै आएको छ भने टेन्ट, कम्बललगायत बसोबासका सामग्री प्रदान गरिएको छ । ताप्लेजुङमा एउटा मोटरेबल पुल पूर्ण क्षति भएको छ भने तीनवटा मोटरेबल पुलमा क्षति पुगेको छ । यस्तै १० झोलुङ्गे पुल, १०  लघुजलविद्युत्मा क्षति पुगेको प्रजिअ चेम्जोङले जानकारी दिए ।

मन्त्री ज्वालाद्वारा निरीक्षणयसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले असार पहिलो साता आएको बाढीले बगाएका दुई सडक पुलको निरीक्षण गरेको छन्  । निरीक्षणपछि उनले अत्यावश्यक रहेका सडक पुल निर्माणलाई चाँडै अघि बढाइने बताए । बाढीका कारण क्षतिग्रस्त संरचनाको निरीक्षणका लागि पाँचथरका सांसद वसन्तकुमार नेम्बाङ, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहित मन्त्रालयको टोलीसहित आएका मन्त्री ज्वालाले शनिबार मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलाको सडक पुलको निरीक्षण गरे । यस क्रममा उनले निर्माणाधीन बेलीब्रिज, डाइभर्सन र फड्केको निरीक्षण गरे । यस्तै हिजो नै याङवरक गाउँपालिका–२ मेवाखोलास्थित दोभाने सडक पुलको निरीक्षण गरे ।

निरीक्षणपछि मन्त्री ज्वालाले मेची राजमार्गमा सवारी आवागमन सञ्चालन गर्न असार ३ गते नै बेलीब्रिज निर्माणको निर्णय भई काम थालिएको बताए । स्थलगत निरीक्षणपछि उनले काम द्रूतगतिमा भइरहेको पाइएको र यसमा झनै रफ्तार बढाउनुपर्ने अवस्था आएको बताए । “हेवाखोलापारिको जनजीवन अत्यन्तै कष्टकर बनेको पाइएको छ । आधारभूत आवश्यकताका वस्तुको अभाव भएको पाइएको छ”, मन्त्री ज्वालाले भने , “यो काम तुरुन्तै सम्पन्न गर्न र सबै स्रोतसाधनको प्रयोग गर्न म सबै निकायलाई निर्देशन दिन चाहन्छु ।” बाढीले समस्या गर्दा डाइभर्सन सञ्चालन गर्न नसकिएको र आफूहरूको मुख्य ध्यान बेलीब्रिज चाँडो सम्पन्न गर्नमै रहेको उनले बताए ।

सांसद नेम्वाङले मन्त्री ज्वालालाई जिल्लामा पाइएकामा खुसी व्यक्त गरे । उनले राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा तदारुकता दिन आफूले सदन र भेटघाटमार्फत सरकारको ध्यानाकर्षण गराइरहेको बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली नै आएपछि क्षतिग्रस्त संरचनाको पुनःनिर्माण चाँडै अघि बढ्ने विश्वास लिएको उनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू