काठमाडौं । ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङमाथि कुटपिट भएको विरोधमा कर्मचारीहरुले देशभरका अदालतको काम प्रभावित पारेका छन् । नासु तामाङलाई अधिवक्ता अमिर लामिछानेले हातपात गरेको विरोधमा कर्मचारीहरूको चार वटा संगठनले काम बन्द गरेका हुन् ।
कर्मचारीहरूले विरोधस्वरूप बिहान १० बजेदेखि साढे १ बजेसम्म काम नगर्ने जनाएका छन् । प्रहरीले नासु प्रेमिका तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेलाई पक्राउ गरि कारवाही अघि बढाइसकेको छ । तर कर्मचारी संगठनलेगरेको हड्तालका कारण सर्वसाधारण मर्कामा परेका छन् ।
गत बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं–१४ का ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका थिए ।
मिसिल हेर्ने विषयमा विवाद भएपछि उनले तामाङमाथि कुटपिट गरेका थिए । तारेख लिन तामाङको फाँटमा पुगेका कानुन व्यवसायी लामिछानेले भीड भएको स्थानमा बसेर मिसिल अध्ययन गरिरहेका थिए । नासु तामाङले मिसिलको फोटोकपी लिएर जान भनेपछि उनले अपशब्द बोलेर उनीमाथि कुटपिट गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्