मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। यस अघि आइतबार साँझ बस्ने भनिएकाे बैठक विशेष कारण देखाउँदै स्थगित भएकाे थियाे । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले बैठक सारिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारका तर्फबाट प्रतिपक्षहरुसँग वार्ता गरी सहमतिमा बिबाद टुङ्ग्याउने सम्भावना रहेको र दिउँसो बैठक नियमित रुपमा सञ्चालन हुने बताए। गण्डकी प्रदेशसभाको आइतबारको बैठकमा प्रदेशसभा सदस्यहरुले बाढीपहिरा, डुबानजस्ता वर्षायाममा हुने प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले सम्भावित प्राकृतिक प्रकोपको सामना गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई चुस्त र प्रभावकारी बनाउनुपर्ने धारणा राखेका हुन् । प्रदेशसभामा आगामी आव २०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफल जारी छ।
प्रतिक्रिया दिनुहोस्