Ads

आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै देशभरि गुरुपूर्णिमा मनाइदै


काठमाडौं । आज अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकट गरी मनाउने गरिन्छ । यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ । आज ३० घडी २७ पला अर्थात ५ बजेर २५ मिनेटसम्म पूर्णिमा तिथि छ ।

गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ । मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ ।

वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य ९गुरु०को मुख्य भूमिका रहने मानिएको छ । ​मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ । व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ । निष्काम भावले विद्या प्रदान गर्नेलाई गुरु भनिन्छ ।

‘जसले अरुलाई आचरणमा राख्छन् र स्वयं पनि आचरणको पालना गर्छन्’, स्मृतिमा भनिएको छ, ‘ती नै गुरु हुन् ।’ एकै अक्षर सिकेको किन नहोस् गुरुको सम्मान गर्दैन भने ऊ पशुभन्दा पनि नीच हुने चाणक्यले बताएका छन् । गुरुका प्रकार शास्त्रमा गुरुका अनेक भेद बताइएका छन् । ज्ञानप्राप्तिका लागि अहोरात्र तपस्यामा लीन हुने ऋषि–महर्षिहरूलाई गुरु मानिएको छ।

ब्रह्मा, विष्णु, महेश्वर यी त्रिदेवलाई गुरुकै कोटिमा राखिएको छ । गीताज्ञान दिने भगवान् श्रीकृष्णलाई वैष्णवहरूले जगतकै गुरु कृष्णं वन्दे जगद्गुरुम् मान्छन् । कतिले पौराणिक ग्रन्थका रचयिता वेदव्यासलाई गुरु मान्छन् । बृहस्पति र शुक्र क्रमशः देव र दैत्यका गुरु मानिएका छन् । तन्त्रमा पनि गुरुका विविध भेद बताइएको छ ।

लौकिक समाजमा आफूलाई कुनै पनि विषयमा ज्ञान दिनेलाई गुरु सम्बोधन गर्ने चलन छ । श्रीमद्भागवत महापुराणको एकादश स्कन्धको सातौँ, आठौँ र नवौँ अध्यायमा २४ गुरुहरूको प्रसङ्ग आउँछ । दत्तात्रेयले पृथ्वी, वायु, आकाश, जल, अग्नि, हात्ती, माहुरी, हरिण, माछा, सर्प, माकुरा र कमलकोटी गरी २४ सजीव निर्जीव वस्तुलाई गुरु मानेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू