काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको बेवास्ता कारण करिब एक वर्षदेखि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन । सभापति देउवाले नचाहँदा गत भदौ ५ यता कांग्रेस केन्द्रीय समिति बैठक बस्न नसकेको हो ।
२०७८ मङ्सिरमा भएको १४ औँ महाधिवेशनबाट सभापतिमा दोहोरिएका देउवाले २० महिनामा ५ पटक मात्र केन्द्रीय समिति बैठक बोलाए । देउवाको दोस्रो इनिङ्सको पहिलो बैठक गत वर्ष पुस १० गते बसेको थियो । त्यसपछि पुस १९ मा दोस्रो र माघ १४ मा तेस्रो बैठक बसेको थियो ।
चौथो बैठक चैत ११ देखि १५ सम्म बसेको थियो भने पाँचौँ बैठक असार २७ देखि साउन २ सम्म चल्यो । यसअघि भदौ ५ मा केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । नेता स्वर्गीय प्रदीप गिरीको शोक प्रस्ताव पारित गरी सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सात महिना यता बसेको छैन ।
तर, पार्टी विधानको धारा २१ को १२ मा केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एक पटक बस्ने उल्लेख छ । विधान अनुसार यसबीचमा कम्तीमा ५ पटक बैठक बस्नुपर्ने थियो । तर कांग्रेसले केन्द्रीय समितिको सट्टा केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर ‘काम चलाउँदै’ आएको छ ।
प्रतिक्रिया दिनुहोस्