काठमाडौं । त्रिभुवन आर्मी क्लबका प्रफुल्ल महर्जन तेस्रो प्रधानमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । उनले राष्ट्रिय च्याम्पियन तथा साविक विजेता प्रिन्स दाहाललाई तीन सेटमा हराउँदै उपाधि उचालेका हुन् । नखिपोट ब्याडमिन्टन कभर्डहलमा भएको खेलमा महर्जनले पहिलो सेट २१–१९ ले जिते ।
दोस्रो सेटमा जुनियरतर्फका पूर्वविश्व नम्बर एक प्रिन्स २३–२१ ले विजयी भए । तर तेस्रो सेटमा पुनः महर्जन २१–१८ विजयी हुँदै करियरमा पहिलो पटक राष्ट्रिय उपाधि उचाल्न सफल भए ।
महिलातर्फ आर्मीकै रसिला महर्जन आफ्नै टिमकी अनुमाया राईलाई पराजित गर्दै पहिलो भइन् । उनले २१–१८, २१–१६ ले जित निकाल्दै उपाधि रक्षा गरेकी थिइन् । प्रतियोगिताको अण्डर ११ ब्वाइजतर्फ सूर्य दर्शन ब्याडमिन्टन एकेडेमीका आदित्य थारु पहिलो भए ।
अन्डर १३ तर्फ आर्मीका सुदेश राजकोटी र गर्ल्सतर्फ दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता कार्की पहिलो भए । अन्डर १५ ब्वाइजतर्फ आर्मीका सुविन श्रेष्ठ र महिला तर्फ कास्कीकी दिलाशा राना पहिलो भए । भेट्रान्स ४५ वर्षमाथिको खेलमा कास्कीका शम्भु श्रेष्ठ र राजेश गुरुङको जोडी विजयी भयो ।
प्रतिक्रिया दिनुहोस्