दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति असहमति जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेटमाथिको छलफलनै बहिष्कार गरेको छ। प्रदेशसभाको हिजाेको दोस्रो बैठक सुरु हुने बित्तिकै एमाले प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाउँदै बैठक बहिष्कार गरेका हुन् ।
बजेटमाथि गम्भीर असहमति जनाउँदै प्रदेशसभामा एमाले प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बजेट किताबसमेत च्यातेर विरोध जनाए। प्रदेशसभा बैठक चलिरहँदा नाराबाजी गर्दै एमालेका प्रदेशसभा सदस्यले बैठक बहिष्कार गरेर बाहिरिएका थिए । बैठक बहिष्कारपछि एमाले संसदीय दलले पत्रकार सम्मेलन गर्दै यथास्थितिमा बस्ने बैठकमा भाग नलिने जनाएको छ। प्रदेशसभा संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्देशनालय खारेजी फिर्ता र क्रमागत योजनामा बजेट नराखेसम्म चुप नबस्ने
बताएको छ। विगतको सरकारले सञ्चालन गरेका बहुवर्षीय तथा गौरवका योजनालाई अलपत्र पार्ने उद्देश्यका साथ अतिन्यून बजेट विनियोजन गरेको पनि एमालेले बताएको छ। प्रमुख प्रतिपक्ष संसदीय दलका नेता लीला गिरीले सरकारले संवाद गर्नै नचाहेको, विपक्षी दलले उठाएका जायज मागलाई पूर्वाग्राही ढङ्गले हेरेको भन्दै आपत्ति जनाए।
यस्तै प्रदेशसभा बैठकमा बोल्ने प्रदेशसभा सदस्यले एमालेले बजेट किताब च्यातेर संसदीय मर्यादा उल्लङ्घन गरेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसकी सचेतक निमा गिरीले बजेट किताब च्यातेर नाराबाजी गर्नु संसदीय मर्यादाविपरीतको कार्य भएको टिप्पणी गरिन्। बैठकमा सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मन्त्रालयका विभिन्न शीर्षक छलफलमा प्रदेशसभा सदस्यले बोल्ने क्रम सकिएको छ।
प्रतिक्रिया दिनुहोस्