झापा\ पछिल्लो समय झापासहित देशभर सडक दुर्घटनाको जोखिम बढ्दै गरेको पाइएको छ ।
कोशी प्रदेशमा सात दिने ट्राफिक सप्ताह शुरु भएसँगै दुर्घटनाको कारण खोज्न थालिएको छ । यसैक्रममा आर्थिक वर्ष २०७७/०७८ मा छ सय ५७ वटा सवारी दुर्घटना हुँदा ९३ जनाको मृत्यु भएको छ भने तीन सय २४ जना गम्भीर घाइते हुनुका साथै सात सय ४१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा छ सय ११ वटा सवारी दुर्घटनामा पर्दा एक सय १६ जनाले ज्यान गुमाए । जसमा दुई सय ५४ जना गम्भीर घाइते भए भने सात सय दुई जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।
आर्थिक वर्ष २०७९/०८० को जेठ मसान्तसम्ममा झापामा सात सय ६१ वटा सवारी दुर्घटनामा पर्दा एक सय पाँच जनाले ज्यान गुमाए । दुर्घटनामा एक सय ६५ जना गम्भीर घाइते भए भने एक हजार ४३ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
सडकको दुरावस्था, सवारी चाप बढ्नु तथा ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा वृद्धि हुँदा दुर्घटनाको संख्यामा वृद्धि भएको ट्राफिक प्रहरी सहायक निरीक्षक चन्द्र राउतले बताए ।
गत आर्थिक वर्ष २०७९/०८० को जेठ महिनासम्मको अवधिमा झापामा एक हजार आठ सय ९९ वटा सवारी मापसे कारवाहीमा परेका छन् भने अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार दुई सय ३८ सवारी कारवाहीमा परेका थिए । पछिल्लो समय ट्राफिक प्रहरीको चेकजाँच बढेसँगै मापसे गर्नेको संख्यामा कमी आएको तथ्यांकमा उल्लेख गरिएको छ ।
ट्राफिक प्रहरीले झापाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमलाई पनि तीव्रता दिएको जनाइएको छ । गत आर्थिक वर्ष ०७९/०८० को जेठ मसान्तसम्म झापामा पाँच हजार ७१ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको प्रहरी नायव निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्