काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मौसमजन्य विपद्का लागि तयारी रहन र नागरिकलाई सुसूचित गराउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । मनसुन सक्रिय रहँदा बाढी–पहिरोको जोखिम बढेको, यातायात अवरूद्ध हुन थालेको भन्दै पार्टीको विपद् व्यवस्थापन विभागलाई अध्यक्ष ओलीले ध्यानाकर्षण गराएका हुन् ।
‘भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन् । पहिरोका कारण राजमार्गहरू अवरूद्ध हुने र यात्रुहरू प्रभावित हुने क्रम बढ्दै छ,’ उनले फेसबुक स्ट्याटसमार्फत् भनेका छन्, ‘त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरूमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्छु ।
हाम्रो पार्टीको विपद् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्छु।’ उनले बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गर्न पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्