Ads

तीन हजार नौ सय ९२ जना हात्ती पीडितलाई आर्थिक राहत 


झापा । जिल्लामा १२ वर्षमा मानव र हात्तीबीचको द्वन्द्वमा पीडित बनेका तीन हजार नौ सय ९२ जनालाई राहत उपलब्ध गराइएको छ । जङ्गली हात्तीको आक्रमणमा मृत्यु, घाइते र धनमालको क्षति भएका परिवारलाई सरकारका तर्फबाट रू सात करोड १६ लाख २७ हजार सात सय १९ राहत रकम वितरण गरिएको हो ।

आर्थिक वर्ष २०६८र६९ देखि २०७९र८० सम्मको अवधिमा मानव–हात्तीद्वन्द्वबाट मृत्यु, घाइते र बाली क्षति भएका तीन हजार नौ सय ९२ जनालाई रू सात करोड १६ लाख २७ हजार सात सय १९ बराबरको राहत वितरण गरिएको जिल्लास्थित डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिए । उनका अनुसार राहतमध्ये आधाभन्दा बढी रकम भौतिक संरचना र बाली क्षति भएका परिवारले पाएका छन् ।

“सरकारले मृतकका परिवारलाई रू १० लाख उपलब्ध गराउँदै आएको छ भने घाइतेको अवस्था अनुसार उपचार खर्च व्यहोर्दै आएको छ । भौतिक सम्पत्ति र बालीको क्षति मूल्याङ्कन गरेर राहत दिने गरिएको छ”, सूचना अधिकारी पुरीले भने । हात्तीको आक्रमणमा परी मृत्यु भएका परिवारलाई तत्कालै काजकरिया खर्चबापत रू ५० हजार नगद उपलब्ध गराउने गरिएको कार्यालयका प्रमुख मेघराज राईले बताए । बाँकी रू नौ लाख ५० हजार कागजी प्रक्रिया पुर्‍याएपछि दिने गरिएको उनले बताए ।

प्रमुख राईका अनुसार घाइते व्यक्ति गम्भीर अवस्थामा भए अधिकतम् रू दुई लाखसम्म उपचार खर्च सरकारले व्यहोर्ने गरेको छ । “घरमा क्षति भए रू २० हजारसम्म र बाली क्षति भए रू १० हजारसम्म पीडितलाई राहत दिने गरिएको छ”, उनले भने, “विगत १२ वर्षमा सबैभन्दा बढी राहत आव २०७८र७९ मा वितरण भएको छ ।”

आव २०७८र७९ मा मृतकका परिवारलाई रू ७९ लाख ५० हजार, घाइतेलाई रू पाँच लाख ७४ हजार ७६ र धनमाल क्षति भएकालाई रू ४१ लाख २४ हजार नौ सय गरी कूल रू एक करोड २६ लाख ४८ हजार नौ सय ७६ राहत रकम वितरण गरिएको कार्यालयले जनाएको छ । यस वर्ष चार सय ४० जनाले राहत पाएका थिए ।

कार्यालयका प्रमुख राईका अनुसार चालु आव २०७९र८० मा पाँच सय १४ जनाले राहतबापत कूल रू एक करोड ११ लाख ३७ हजार सात सय प्राप्त गरेका छन् । चालु आवमा हात्तीको आक्रमणमा आठ जनाको मृत्यु भएकोमा पाँच जनाले राहत पाइसकेका छन् । अरुको राहत प्रक्रियामा छ ।

कार्यालयको अभिलेख अनुसार विगत १२ वर्षमा हात्तीबाट सम्पत्ति, चौपाया र अन्नबाली क्षति भएका परिवारले राहतस्वरुप रू तीन करोड ९१ लाख १२ हजार नौ सय ४१ पाइसकेका छन् । त्यस्तै, सोही अवधिमा हात्तीबाट मृत्यु भएकाको परिवारले रू दुई करोड ८३ लाख ८५ हजार र घाइते भएकाको परिवारले रू ४१ लाख ६४ हजार सात सय ७८ राहतस्वरुप प्राप्त गरेका छन् । आव २०७२र७३ मा सबैभन्दा बढी नौ सय १९ जनाले राहत पाएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू