झापा । चालु आव २०७९र८० मा हात्तीको आक्रमणमा परी झापामा आठ जनाको मृत्यु भएको छ । हात्तीले खेतबारीमा काम गर्दा, घरमा सुतेका बेला, काम विशेषले हिँडिरहेका बेला र जङ्गलमा गएका बेला मानिसलाई आक्रमण गरेको पाइएको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिए ।
उनका अनुसार यस वर्षको असारमा हात्तीको आक्रमणमा तीन जनाले ज्यान गुमाएका छन् । मृतकहरु मेचीनगर–१० की ८० वर्षीया अन्नाकुमारी साह, दमक–३ की ४५ वर्षीया कमैया राई र भद्रपुर–७ का ५२ वर्षीय गिरेन कर्मकार रहेका छन् ।
त्यस्तै, गत पुसमा शिवसताक्षी–११ का ६१ वर्षीया कृष्णामाया भण्डारी र वैशाखमा बुद्धशान्ति–४ का ७० वर्षीय भीमबहादुर भट्टराईको हात्तीको आक्रमणमा मृत्यु भएको थियो ।
पुसमा नै बाह्रदशी–१ का ३७ वर्षीय जगतबहादुर भुजेल, भदौमा बुद्धशान्ति–५ का ३७ वर्षीया सम्झना श्रेष्ठ, भदौमा बाह्रदशी–२ का देबीबहादुर अधिकारीको हात्तीको आक्रमणमा मृत्यु भएको सूचना अधिकारी पुरीले जानकारी दिए ।
हात्तीपीडित परिवारलाई स्थानीय पालिका र सामुदायिक वन कार्यालयले समेत आफ्नै कार्यविधि बनाएर सोही अनुरुप राहत रकम प्रदान गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्