काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण व्यापक विवादमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।
आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरुले संसद बैठक चल्न नदिएपछि प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।
उनको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजात्नत्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र राष्ट्रियसभा समेत अवरुद्ध गरिरहेका छन् । एमालेले जवाफ नभई अब राजीनामा दिनुपर्ने अडान लिँदै आएको छ भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसदमा अवरोध गरेका हुन् ।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले संसदमा प्रधानमन्त्रीले जवाफ दिएर अघि बढ्ने निर्णय गरेको थियो । तर संसद सचिवालयले भने प्रधानमन्त्रीले बोल्ने विषयमा कुनै जानकारी नआएको जनाएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस्