काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले अफ्ठ्यारो अवस्था आएमा राजीनामा दिने बताएका छन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको पक्षमा बहुमत पुर्याएर मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका सभामुख गौतमले अफ्ठ्यारो परेमा पदबाट राजीनामा दिने बताएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रमपछि उनले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै अन्तिम समयमा मात्रै आफूले हस्ताक्षर गरेको बताए ।
गौतमले भने – ‘मेरो नाम जान्छ भन्नेमा म ढुक्क थिएँ । दलका नेताले हस्ताक्षर गर्ने कुरामा तयार थिइनँ । तर अन्तिम अवस्थामा निकास नदिई नहुने भएकोले हस्ताक्षर गरेको हुँ कसैले दबाब दिएर नभई आफैंले निकास दिनका लागि हस्ताक्षर गरेको हुँ ।’
सभामुखको कदमको विरोध गर्दै एमालेसहित विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा छ । विपक्षीहरूले अदालत जाने तयारी गरिरहँदा गौतमले भने आवश्यक परे राजीनामासम्म दिने । राजीनामा दिने परिस्थिति आए आफू तयार रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्