Ads

आत्महत्या रोकथामको लागि ठोस कदम नचाले भविष्यमा थप क्षति बेहोनुपर्नेछ: गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय  आत्महत्याका घटना बढेकोप्रति चिन्ता प्रकट गरेका छन् । मुलुकको आर्थिक सामाजिक र राजनीति अवस्थाले पनि जनतामा निराशा पैदा गरेको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्– हामीले गरेको राजनीतिले युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने,  बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ ? खै हामीले समाजको आवश्यकता बुझेको ?

आत्महत्या रोकथामको लागि ठोस कदम नचाल्ने हो भने भविष्यमा थप क्षति बेहोनुपर्नेमा थापाले सचेत गराएका छन् । मानसिक स्वास्थ्य सम्बन्धी चेतना, परामर्श र उपचार स्थानीय निकायबाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गर्नुपर्नेमा थापाको जोड रहेको छ ।

गगन थापा  पछिल्ला केही हप्तामा सामाजिक सञ्जाल, युवा कलाकारहरूको आत्महत्याको खबरले भरियो। एक पछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ। आज बिहान सामाजिक सञ्जाल खोल्दै गर्दा एक जना अर्को कलाकारको त्यस्तै खालको अभिव्यक्ति देखेँ । एकदमै अत्यास लाग्यो ।

आखिर हामी कहाँ चुक्यौँ ? हाम्रो समाज कहाँ चुक्यो ? किन हरेक वर्ष आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ ?  हामीले यतिका वर्ष देखि कसका लागि सङ्घर्ष गर्‍यौँरु हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थरु खै हामीले समाजको आवश्यकता बुझेको ? हामीले गर्ने राजनीति जनताको लागि हो । उहाँहरूको जीवन भौतिक विकास बाहेक अरू पनि थुप्रै विषयसँग जोडिएको छ भनेर बुझ्न अझै कति समय लाग्ने हो ?

सामाजिक सञ्जालमा साथीको सङ्ख्या सँगै मानिसहरूको एक्लोपन बढेको छ । मान्छे स्क्रिनसँग बढी निकट हुन थालेको छ। मनका कुरा राख्ने ठाउँ भेट्न छोडेको छ। मानसिक रूपमा सङ्घर्ष गर्दै छु भन्दा लाज मान्नु पर्ने कस्तो समाजको निर्माण गर्‍यौँ हामीलेरु कसैले हिम्मत गरेर मलाई परामर्श चाहिने छ भन्यो भने पनि शुल्कका कारण त्यो सुविधा लिन नसक्ने अवस्था छ ।

अब पनि हामीले ठोस कदम नचाल्ने हो भने, हामीले भविष्यमा धेरै मानिका र सरोनहरूलाई गुमाउने छौँ । हामीले त्यो अवस्था कदापि आउन दिनु हुन्न । यसमा तपाईँ हामी सबैको भूमिका रहन्छ । अब मानसिक स्वास्थ्य सम्बन्धि चेतना, परामर्श र उपचार स्थानीय निकाय बाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गरौँ । हामी चाँडै नै काठमाडौँ महानगर वार्ड नं ३० मा सञ्चालन भइरहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ( Urban Health Promotion Centre – Kathmandu 30 )  मा मानसिक स्वास्थ्यका लागि आवश्यक थप सेवाहरू बिस्तार गर्नेछौँ। तपाईंले यहाँबाट पनि निस्शुल्क सेवा लिन सक्नु हुनेछ ।

हरेक व्यक्तिले आफ्नो भावनात्मक, मानसिक स्वास्थ्यलाई बुझ्ने, सहयोग चाहिएमा प्रोफेसनल सहयोग पाउने अवस्था सृजना गर्नु पर्छ।विद्यालयहरूमा सानै उमेरबाट बालबालिकाले यस्ता खाले जानकारी र सहयोग पाउन सके भने, कालान्तरमा उनीहरूका लागि सहज हुन्छ। हामीले यस सम्बन्धि पहल कानुनी रूपमा नै गर्नुपर्छ। हामीले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउन सक्दैनौ भने हामीले गरेको सङ्घर्षको, हाम्रो राजनीतिको के अर्थ ?

Ads

सम्बन्धित पोष्टहरू