काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले आफूले दिएको अभिव्यक्तिप्रति संसद्मा उभिएर माफी मागे संसद् चलाउन सकिने बताएका हुन् ।
तर, अहिलेको अवस्थामा प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत् रहेको उनको भनाइ छ ।
“प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो माग यथावत् नै रहन्छ । र, उहाँले जो कुरा बोल्नुभएको छ । त्यसका उहाँले कम्तीमा पनि सदनमा आएर माफी माग्नुभयो भने छलफल गर्ने एउटा वातावरण बन्न सक्छ,” गिरीले भने ।
उनले प्रधानमन्त्रीले मुलुकको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्