धनगढी । नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति तीब्र असन्तुष्टि जनाएका छन् ।आइतबार कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकमा बजेटप्रति असन्तुष्ट प्रदेशसभा सदस्यहरुले संशोधनको माग गरेका छन् ।
सरकारले सांसदहरुको भूमिका नै कमजोर हुनेगरी असन्तुलित रुपमा बजेट ल्याएको भन्दै संशोधन गर्नुपर्ने माग उठेको हो । बैठकमा मुख्यमन्त्री शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा बाहेकका १३ जना प्रदेशसभा सदस्यहरुले बोलेका थिए । बैठकमा उनीहरुले बजेट संशोधन गरेर आफूहरुले दिएका सुुझाव कार्यान्वयन गर्न सरकार तयार हुनुपर्ने माग गरेका छन् ।
सांसदहरुका कुरा सुनेपछि मुख्यमन्त्री शाहले बजेटमा केही समस्या भएको स्वीकार गरे ।गठबन्धनमा आवद्ध अन्य दलसँग पनि छलफल गरेर के कसरी हुन्छ मिलाएर लैजाने उनकाे भनाइ छ । सुदूरपश्चिममा सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरुले असन्तुष्टि जनाएपछि बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । यसअघि असन्तुष्ट सांसदहरुले शीर्ष नेताहरुलाई भेटेर बजेट संशोधन गर्नुपर्ने माग गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्