म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलिब्रिज जडान गरिएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्ग खोलामा करिब ३५ लाखको लागतमा ३० मिटर लामो बेलिब्रिज जडान भएको जनाएको छ।
सडक अन्तर्गत मुस्ताङको लेतेखोलाको बेलिब्रिजलाई भुरुङ्ग खोलामा स्थानान्तरण गरिएको आयोजना प्रमुख जगत प्रजापतिले बताए। भुरुङ्गखोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो। बर्खा याममा बाढी आउँदा पनि बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या आउन नदिन तत्कालै बेलिब्रिज राखिएको हो।
असार पहिलो साता शुरु गरिएको बेलिब्रिज जडानको काम सकिएर यातायातका साधन आवत जावत गर्न थालेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य वीरबहादुर पौडेलले जानकारी दिए। कल्भर्ट बगाएपछि भुरुङ्ग खोलामा बाढी आउँदा सवारी साधन आवत जावत अवरुद्ध हुने समस्या थियो ।
म्याग्दी र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तिर्थयात्री समस्यामा परेका थिए । बेलिब्रिज सञ्चालन भएपछि सहज भएको छ। लेतेखोलामा पक्कि पुल बनेपछि त्यहाँको बेलिब्रिजको सामान सडक डिभिजन कार्यालय पोखरा लगिएको थियो। पोखराबाट बेलिब्रिजको पाटपुर्जा ल्याएर भुरुङ्ग खोलामा राखिएको हो।
प्रतिक्रिया दिनुहोस्