काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदैछ। यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ। अघिल्लो बर्ष साउनमा बैठक बसेपछि केन्द्रिय समिति बैठक अझै बस्न सकेको थिएन ।
झन्डै एक बर्षपछि बस्न लागेको बैठकमा यसबीचमा भएका निर्णयहरु अनुमोदन गराउनेदेखि भातृ संगठनसम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुनर्बिचार गरिने भएको छ। गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ।
यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ। जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएकाे छ। साथै, संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्