गत पुस १० गते पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। उनी तेस्रो पटक मुलुकको कार्यकारी पदमा पुगेका थिए। तर, उनकी जीवनसंगिनी सीता दाहालले यो खबर थाहा पाइनन्।
किनभने उनी गत दुई वर्षदेखि नै अचेत पल्टिरहेकी थिइन्।
प्रचण्ड प्रधानमन्त्री भएर बालुवाटारस्थित सरकारी निवासमा सरेपछि सीतालाई पनि खुमलटारबाट बालुवाटार सारियो। बालुवाटारमा उनलाई एक अलग कोठामा एक नर्सले हेरचाह गर्ने व्यवस्था मिलाइएको थियो।
तर, उनको अवस्था एकदम नाजुक थियो। उनको होस थिएन। बोली आउँदैनथ्यो। हातखुट्टा चल्दैनथे। आँखा जुधाएर हेर्न सक्दिनथिन्।
उनको अवस्था झनझन् कमजोर हुँदै गयो। उनलाई पटकपटक आपतकालीन उपचारका लागि अस्पताल पुर्याइराख्नुपर्यो।
बुधबार पनि उनलाई सास फेर्न अप्ठेरो भएपछि नर्भिक अस्पताल पुर्याइएको थियो। तर, ८ः३३ मा चिकित्सकले उनलाई मृत घोषित गरे।
यसरी पति तेस्रो पटक प्रधानमन्त्री भएको थाहै नपाई सीताको निधन भयो। यससँगै प्रचण्ड र सीताको ५४ वर्षको दाम्पत्य जीवनमा पूर्णविराम लागेको छ।
को हुन् सीता?
प्रचण्ड र सीताको विवाह २०२६ सालमा भएको थियो। त्यतिबेला प्रचण्ड १६ र सीता १५ वर्षका मात्र थिए। सीता २०११ सालमा कास्कीको हेम्जामा जन्मिएकी थिइन्। उनी सानै छँदा उनको परिवार चितवन झरेको थियो। उनले स्कुल पढ्न पाइनन्।
प्रचण्डको परिवार पनि कास्कीबाटै चितवन बसाइँ सरेको थियो। त्यहीँ उनीहरुको मागी विवाह भएको थियो।
विवाहताकै प्रचण्ड राजनीतिमा होमिइसकेका थिए। त्यसको प्रभाव परिवारमा नपर्ने कुरै थिएन। ०२८ सालदेखि नै उनी कम्युनिस्ट राजनीतिमा जोडिइन्।
प्रचण्ड–सीताका चार सन्तान जन्मिए। ज्ञानु, रेणु, गंगा र प्रकाश। बालबच्चाको हेरचाह गर्नुपर्ने बेला प्रचण्ड जनयुद्धको जग हाल्न व्यस्त थिए। त्यसैले छोराछोरी हुर्काउने मुख्य जिम्मेवारी सीताले एक्लै भनेजसो निर्वाह गरिन्। पतिको खबर पार्टीको सम्पर्कसूत्रबाट आउँथ्यो।
त्यतिबेला नेकपा मशालको महामन्त्री थिए प्रचण्ड। उनीले निर्मल लामाको चौम, मसालका हरिबोल गजुरेल, डा. बाबुराम भट्टराईलगायतसँग मिलेर एकता केन्द्र बनाए। युद्ध थाल्ने बेलामा एकता केन्द्रको नाम फेरेर नेकपा माओवादी राखियो।
युद्ध सुरु हुँदा जेठी छोरी ज्ञानुको विवाह भइसकेको थियो। तर, तीन सन्तान पढ्दै थिए। उनीहरुलाई कहाँ र कसरी राख्ने भन्ने चिन्ता प्रचण्डलाई थियो। त्यसैले उनले छोराछोरी सम्हालेर बस्न सीतालाई आग्रह गरे।
तर, सीताले युद्धमा आफू पनि सहभागी हुने प्रस्ताव गरिन्। त्यसरी उनी पनि भूमिगत युद्धमा सहभागी भइन्।
त्यसपछि सीता आफ्ना लालाबाला बोकेर कहिले रोल्पा, रुकुम त कहिले भारतीय सहरहरुमा बसाइँ सरिरहिन्।
यसक्रममा उनले पार्टीको नेतृत्वलाई सही सल्लाह दिन महत्वपूर्ण भूमिका खेलेको माओवादीका नेताहरुले पटकपटक बताएका छन्।
खासगरी पार्टीका नेताहरुबीच आन्तरिक मतभेद हुँदा उनी बीचमा बसेर मध्यस्थता गर्थिन्। प्रचण्डलाई थुम्थुम्याएर मिलाउँथिन्। त्यसैले पार्टीका थुप्रै कार्यकर्ता उनलाई सीताआमा भनेर सम्बोधन गर्ने गर्छन्।
उनलाई सबैले सम्मान गर्ने अर्को कारण थियो, उनी कहिल्यै विवादमा आइनन्। विवादास्पद अभिव्यक्ति दिइनन्। हमेसा पार्टीलाई मिलाउने, बलियो बनाउनेमा उनको प्रयास केन्द्रित थियो।

एकपछि अर्को बज्रपात
युद्धभरि प्रचण्ड परिवारलाई पार्टीका नेताकार्यकर्ताले त पुज्थे नै, विरोधीहरुले पनि सम्मानपूर्वक नाम लिन्थे। तर, युद्ध अन्त्यसँगै त्यो स्थिति रहेन। प्रचण्ड र उनको परिवारका सदस्यको हरेक कामकारबाही र अभिव्यक्तिको आलोचना–प्रशंसा हुन थाल्यो।
शान्ति प्रक्रियामा आएपछि संविधान सभाको पहिलो चुनाव भयो। सबैभन्दा ठूलो पार्टीको अध्यक्षका रुपमा प्रचण्डले सफलतापूर्वक सरकार चलाउन सकेनन्। नौ महिनामै उनले राजीनामा दिनुपर्यो। त्यो संविधान सभाले संविधान पनि बनाउन सकेन। प्रचण्डको छवि पहिलेजस्तो रहेन।
उता यो परिवारलाई पारिवारिक बज्रपात पनि पर्न थाल्यो। ०६९ मा बहुविवाहको विषयलाई लिएर छोरा प्रकाशको चर्को आलोचना भयो। केही समय उनी परिवारबाट पनि टाढिए।
दोस्रो संविधान सभाको चुनावभन्दा केही समयअघि जेठी छोरी ज्ञानुलाई स्तन क्यान्सर देखियो। उपचारपछि पनि त्यो निको भएन। २०७० चैत १३ गते ज्ञानुको ४० वर्षकै उमेरमा काठमाडौँको ओम अस्पतालमा मृत्यु भयो।
छोरीको मृत्यु सीताका लागि ठूलो झड्का थियो। उनलाई रोगका लक्षणहरु देखिन थाले। उनी बारम्बार बिरामी परिरहन्थिन्।
उता दोस्रो संविधान सभाको निर्वाचनमा भएको पराजयले पनि तनाव थपेको थियो।
केही वर्ष यसरी नै बित्यो। ०७४ मा सीताको जीवनमा अर्को बज्रपात पर्यो। लाजिम्पाटस्थित निवासमा सुतिरहेका छोरा प्रकाशको मृत्यु भयो।
त्यसपछि त सीता थला नै परिन्। एकपछि अर्को सन्तान वियोगले उनलाई गलाउँदै लग्यो।
सीतालाई लागेको रोग र उपचार
डाक्टरहरुले सीतालाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) लागेको बताएका छन्। अन्त्य विरलै लाग्ने यो रोग निको हुँदैन। यसले मानिसको शारीरिक र मानसिक अवस्थालाई असन्तुलित तुल्याउँछ। बोल्न, हिँड्न, निल्न नसक्ने बनाउँछ।
सीताको मस्तिष्कको नसा सुक्दै गएको चिकित्सकहरुको भनाइ छ।
प्रचण्डले सीताको उपचारका लागि कुनै कसर छाडेका थिएनन्। उनलाई देशविदेशका अत्याधुनिक अस्पताल पुर्याउनुका साथै वैकल्पिक उपचार पद्दति पनि अपनाइएको थियो।
असार २०७५ मा सीतालाई सिंगापुरको माउन्ट एलिजावेथ अस्पताल पुर्याइयो। सोही वर्ष चैतमा अमेरिकाको प्रतिष्ठित जोन्स हप्किन्स अस्पताल लगियो।
०७७ पुसमा भारतको मुम्बईमा उनको उपचारको प्रयास भयो। तर, केही गरी उनलाई निको भएन।
प्रचण्डले मनको शान्तिका लागि सीतालाई बाबा रामदेवले भनेअनुसार भारतको हरिद्वार पनि लगे, म्याग्दीको तातोपानी कुण्डमा नुहाउन पनि पुर्याए।
अन्तिम दिनहरु
सीतालाई पाइपबाट खाना दिइँदै आएको थियो। केही समयअघि मात्र त्यो पाइप फेर्न उनलाई अस्पताल पुर्याइएको थियो।
उनले मान्छेहरुलाई नचिने पनि अन्य पार्टीका नेताहरु सीतालाई भेट्न बालुवाटार आइरहन्थे।
प्रधानमन्त्री प्रचण्ड व्यस्त तालिकाका बाबजुद उनीसँग दैनिक समय बिताउँथे।
पत्नीको अवस्था बुझ्न उनी उनको कोठामा पुगिरहन्थे। पत्नीको नाजुक हालत देखेर भावुक प्रकृतिका प्रचण्डलाई आँसु रोकन मुस्किल हुन्थ्यो। तैपनि उनी पत्नीलाई ढाडस दिइरहन्थे।
पछिल्लो समय पीएसपीका अलावा डायबिटिज, उच्च रक्तचापजस्ता समस्या पनि उनलाई थियो।
डा. युवराज शर्माका अनुसार बुधबार बिहान उनको हेरचाह गर्ने नर्सले अवस्था बिग्रिएको भन्दै फोन गरेकी थिइन्।
‘मैले तुरुन्तै नर्भिकको इमर्जेन्सी टिमलाई खबर गरेँ। म बालुवाटार पुगेर अक्सिजनको मात्रा हेर्दै थिएँ। नर्भिकबाट पनि टोली पुग्यो। अक्सिजन, इन्जेक्सन, आदि लगाएर दौडाएर अस्पताल ल्यायौँ। अस्पताल ल्याइपुर्याउँदा ८ बजेको थियो,’ उनले भनेका छन्।
उनलाई ब्युँताउने प्रयास असफल भएपछि ८:३३ मा सीताको निधन भएको घोषणा गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्