Ads

नेपाली भाषाको विकासमा भानुभक्त आचार्यको विशिष्ट योगदान छ : गृहमन्त्री श्रेष्ठ


काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए ।

उनका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’, ‘रामगीता’  लगायत दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् । भानु जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले कमलादीमा रहेको भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताए । उनले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्न भानुभक्तबाट पनि प्रेरणा लिनुपर्ने उल्लेख गरे ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भानुभक्तले भाषा एकीकरणका सम्बन्धमा क्रान्तिकारी योगदान गरेको बताए । कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू