काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन्। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उनीहरूबीच भएको भेटमा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजनाका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए ।
उनका अनुसार भेटमा पार्टी अध्यक्ष ओलीले एमसीसी परियोजना समयमै सक्नुपर्नेमा जोड दिए । उनले विगतमा एमसीसीका बारेमा धेरै नै उतारचढाव भए पनि अहिले परियोजना कार्यान्वयनको चरणमा आएको बताएकाे नेता भट्टराईले जानकारी दिए।
भेटमा सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना पूर्णरूपमा सुरु गर्ने र वरिष्ठ अधिकारी आएर परियोजना पूर्णरूपमा आरम्भ गर्ने बताए। उनले एमसीसी परियोजना अगाडि बढाएकोमा धन्यवाद व्यक्त गरे । सहायक विदेशमन्त्री लु एक दिने नेपाल भम्रणका लागि शुक्रबार नेपाल आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्