Ads

चट्याङबाट हरेक वर्ष क्षति बढ्दै, पाँच वर्षमा ४१९ जनाको मृत्यु


काठमाडौं । चट्याङ पर्नु सामान्य प्राकृतिक प्रक्रिया हो । सूर्यको किरण वायुमण्डलमा ठोक्किँदा पृथ्वीमा विद्युतीय चार्ज उत्पादन हुन्छ । त्यसलाई सन्तुलनमा राख्न चट्याङ पर्छ । तर, मौसम परिवर्तनका कारण चट्याङमा पनि फेरबदल भएको र वर्षेनी चट्याङबाट मृत्यु हुनेको संख्या बढ्दो छ ।

असार २८ गते जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० वटा भेडाबाख्रा मरे भने ७० वटा हराए । चट्याङले ४२ बाख्रा र आठ वटा भेडा मरेको गाउँपालिकाले जनाएको छ। जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासीमा यसरी चट्याङले भेडाबाख्रा मरेको यो पहिलाेपटक भने होइन । यस्तै असार ८ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरे । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर ती भेडा मरेका हुन् ।

यी चट्याङका केही प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो पाँच वर्षमा नेपालमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । यस अवधिमा ६ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । लुम्बिनीमा ७६, मधेस प्रदेशमा ६९, बागमतीमा ६२, सुदूरपश्चिममा ४३ र गण्डकी प्रदेशमा ३६ जनाले ज्यान गुमाएका छन् ।

सो अवधिमा चट्याङका कारण छ करोड आठ लाख ८५ हजार सात सय ६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा दुई करोड ७९ लाख ३४ हजार पाँच सय र सबैभन्दा कम कर्णालीमा २३ लाख ९२ हजार चार सय ३० रुपैयाँको क्षति पुगेको छ । लुम्बिनी प्रदेशमा ९२ लाख ३८ हजार तीन सय ३०, बागमतीमा ७९ लाख ८२ हजार, मधेसमा ५९ लाख ७९ हजार, गण्डकीमा ४९ लाख ३६ हजार पाँच सय र सुदूरपश्चिम प्रदेशमा २४ लाख ३३ हजार बराबरको आर्थिक क्षति भएको छ ।

चट्याङका कारण मुलुकभर ५७ वटा भौतिक पूर्वाधारमा क्षति पुगेको छ । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १५ र सबैभन्दा कम गण्डकी प्रदेशमा ४ वटा क्षति भएको छ । कोशी प्रदेशमा १४, कर्णालीमा सात, मधेस र बागमती प्रदेशमा छ/छ र सुदूरपश्चिम प्रदेशमा पाँच वटा पूर्वाधारमा क्षति पुगको छ । सो अवधिमा कूल तीन हजार एक सय ८७ वटा पशुचौपायाको क्षति भएको छ । जसमध्ये कर्णालीमा एक हजार पाँच सय चार, मधेस प्रदेशमा ३५, सुदूरपश्चिममा आठ सय ४७, कोशीमा दुई सय ८९, गण्डकीमा दुई सय ६९, लुम्बिनीमा एक सय ७१ र बागमती प्रदेशमा ७२ वटा पशुचौपायाको क्षति भएको छ ।

अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । घर एवं भवनमा विद्युतीय सुचालकको प्रयोग गरेर आकाशदेखि जमिनसम्म सजिलो बाटो उपलब्ध गराउन सके घरलाई चट्याङको जोखिमबाट बचाउन सकिन्छ । तर नेपालमा यसतर्फ त्यति ध्यान पुर्याइएको पाइँदैन। चैतदेखि असारसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गरेकाले यस समयमा विशेष सतर्कता अपनाउन जरुरी देखिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू