काठमाडौँ । बैंकहरूले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक ब्याजदर नीति अनुसार आगामी महिनाका लागि जारी महिनाको अन्तिम दिन अर्थात् मसान्त अघि नै नयाँ ब्याजदर प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकको नीति बमोजिम वाणिज्य बैंकहरूले आइतबार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
गत बिहीबार बसेको बैंकर्स संघको बैठकले आगामी महिनाका लागि खुल्ला ब्याजदर नीति (ब्याजदर तोक्ने अधिकार बैंकहरूलाई नै) दिने निर्णय गरेको थियो । ब्याजदरको विषयमा बैंकहरूले मिलेर कार्टेलिङ गरेको भन्दै चौतर्फी विरोध भएपछि संघ ब्याजदरको विषयमा खुल्ला नीतिमा जान बाध्य भएको हो।
सोही खुल्ला नीति अनुरूप बैंकहरूले आगामी महिनाका लागि निक्षेपमा न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १०.९८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । यसअघिसम्म भद्र सहमतिका नाममा ब्याजदरमा कार्टेलिङ गरिरहेका बैंकहरूले असारका लागि न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम ९.९९ प्रतिशत ब्याजदर कायम गरेका थिए । साउन महिना नयाँ आर्थिक वर्षको सुरुवाती महिनासमेत हाे । घट्दो ब्याजदरमा आर्थिक वर्ष सुरुवात हुने भएको छ।
प्रतिक्रिया दिनुहोस्