काठमाडाैँ । भारतको गुजरातमा भइरहेको जी-२० अर्थमन्त्रीहरूको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामणबीच द्विपक्षीय साइडलाइन बैठक भएको छ ।
बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिएका थिए ।
अर्थमन्त्री महतले प्रधानमन्त्री प्रचण्डको भारत भ्रणको क्रममा सम्पन्न विद्युत् निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी १० वर्षमा १० हजार मेघावाट विद्युत् भारत निकासी भई व्यापारघाटा घटाउन मद्दत मिल्ने बताए ।
दुई देशबीचको व्यापार तथा लगानी सहजीकरणको लागि मिलेर काम गर्नेमा दुवै अर्थमन्त्री एकमत रहेको जनाइएको छ ।
भारतका अर्थमन्त्रीले एन पीएचएल र भारतको इन्टरनेशनल पेमेन्ट लिमिटेडबीच भएको समझदारीबमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गरेकी थिइन् । अर्थमन्त्री महतले छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न जवाफ दिएका थिए ।
भेटवार्तामा महतले सूचना प्रविधि क्षेत्रमा नेपालमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यावसायिक संभाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउन महतले अनुरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्