Ads

बाघले आक्रमण गरेर एकै घरका १० वटा बाख्रा मारे


बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तिमा बाघले आक्रमण गरेर एकै घरका १० वटा बाख्रा मारेको छ । स्थानीय धनबहादुर थिङ्गले जंगलमा चराउन लगेको बाख्रा घर फर्किने क्रममा बाघले सोमवार राति आक्रमण गरेर मारेको हो ।

चरिचरनको लागि जंगलमा लगेको बाख्रा घर फर्किने क्रममा बाघले मारेको छिमेकी रमेश सापकोटाले बताए । उनले १० वटा मध्ये एउटा बाख्रा खाएको र अन्यलाई मारेर छोडेको जानकारी दिए । जंगलमा चराएर साझ घर फर्किने क्रममा गाउँ नजिकैको जंगलमा बाघले बाख्रा मारेको हो । ‘घर नजिकै आइपुग्न लागेपछि थिङ्ग बाख्रा जंगलमै छोडेर घर आएका रहेछन,’ सापकोटाले भने, त्यहिबेला बाघले आक्रमण गरेर बाख्रा मारेछ ।’

बाख्राको बथान राती घर नर्फिएपछि हिजो बिहान छिमेकीहरु मिलेर खोजी गर्ने क्रममा बस्तिबाट करिव ५ सय मिटर पूर्वोत्तरको जंगलमा बाख्राहरु मरेको अवस्थामा फेला पारिएको सापकोटाले जानकारी दिए । बाख्रापालन व्यवसाय गर्दै आएका थिङ्गले प्रायजसो घर नजिकै आइपुगेपछि जंगलमै बाख्रा छोडेर घर फर्किने गरेको सापकोटाको भनाइ छ । चर्दै आफै आउछन भनेर अघिअघि घर फर्किएको रहेछन, उनले भने , तर यस पटक बाघले मारेर एउटा बाख्रा पनि घर फर्किन पाएनन ।’

बाघले गोठ नै सखाप पारेर बाख्रा मारेपछि थिङ्गको परिवारको बिल्लिबाठ भएको सापकोटाको भनाइ छ । ‘बाख्रा पालेर परिवारको गुजारा गर्दैआएका थिए ,’ सापकोटाले भने, ‘थिङ्ग परिवारमा अब कसरी गुजारा चलाउने भन्ने समस्या आइलागेको छ ।’ स्थानीयबासिन्दाले भने थिङ्ग परिवारलाई जीतपुरसिमरा उपमहानगरपालिकाले क्षतिपूर्तिको प्रबन्ध मिलाउनुपर्ने माग गरेका छन ।

 

Ads

सम्बन्धित पोष्टहरू