काठमाडौं । नेकपा एकीकृत समाजवादीको बैठक भोलि सम्मका लागि स्थगित भएको छ । शुक्रबारदेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार अर्को बैठक भोलिमात्रै बस्ने छ । भोलि बिहान ८ बजे सुरू हुने बैठक कीर्तिपुरस्थित चम्पादेवीको पुष्पलाल स्मृति प्रतिष्ठानमै बस्ने छ । ‘अहिलेसम्म एमाले अध्यक्ष केपी ओलीले संसद् विघटनयताका राजनीतिक घटनाक्रम, एकीकृत समाजवादी गठनबारे मात्रै छलफल भइरहेको छ। कार्यसूचीमा प्रवेश गरेका छैनौं,’ पाण्डेले भने ।
बैठकमा बोल्ने केही सदस्यहरूको निर्वाचनको परिणामबारे पनि धारणा राखेका थिए । उपाध्यक्ष पाण्डेले गठबन्धन गरे पनि मत ट्रान्सफर हुन नसकेको धारणा राखेका थिए । पाण्डेले गठबन्धन नभएका ठाउँमा सबैतिर उम्मेदवार दिन सकेको भए राष्ट्रिय बन्ने अवस्था सिर्जना हुने धारणा राखेको उनले बताए ।
‘कांग्रेस, माओवादी केन्द्रले कतिपय ठाउँमा हामीलाई नै चाहिन्छ भन्नेजस्तो पनि गरे। त्यसो हुँदा उम्मेदवारी नै हाम्रो कम भयो। गठबन्धन भएका ठाउँमा गठबन्धन गर्ने, नभएका ठाउँमा उम्मेदवारी दिन सकेको भए मत बढ्थ्यो भन्ने धारणा राखेँ,’ उनले भने । त्यस्तै बैठकमा महाधिवेशनबारे पनि छलफल भएको छ । ‘मंसिरदेखि फागुनभित्रमा महाधिवेशन गर्नेगरी धारणा आएका छन् । यसबारे पनि निर्णय हुने छ,’ उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकले एकीकृत समाजवादीको राजनीतिक कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप आदिबारे पनि साझा दृष्टिकोण तय गर्ने पनि बताए । मन्त्रीहरूको कार्यव्यस्ताका कारण बैठक बीचबीचमा स्थगित गर्नुपरेको पनि खतिवडाले बताए ।बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डा अघि सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्