पोखरा । विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउन्ड अन्नपूर्ण क्षेत्रमा पछिल्लो साढे ६ महिनामा झन्डै २० हजार पर्यटक भित्रिएका छन् । कोरोना सङ्क्रमणले दुई वर्ष नराम्ररी थलिएको यो पदमार्गमा सन् २०२३ को जुलाई १८ (साउन २ गते) सम्म १९ हजार ५ सय ६२ पर्यटक पदयात्राका लागि आएका हुन् । सोमध्ये १ हजार ४ सय २१ जना सार्क राष्ट्रका रहेका छन् भने अन्य पर्यटक जापान, चीन, युरोप, अमेरिका र कोरियका रहेका छन् । यो सङ्ख्या सन् २०२२ को तुलनामा झन्डै दोब्बर हो ।
सन् २०२२ को पहिलो ६ महिनामा झन्डै ११ हजार जनाले पदयात्रा गरेका थिए । सन् २०२२ को वर्षमा कूल २४ हजार पाँच सय ४२ जना पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप विरेठाँटी चेकपोष्ट इञ्चार्ज याम गुरुङले जानकारी दिए । गुरुङले अगस्टपछि सुरु हुने अर्को याममा पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान रहेको बताए । यस वर्ष ४० हजारभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ । पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि सुरु हुने यो पदमार्ग विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्दछ ।कोभिड सङ्क्रमणपछि यस क्षेत्रमा अहिले पर्यटकको सङ्ख्या उल्लेख्यमात्रामा वृद्धि भएको गुरुङले बताए ।
‘सन् २०२० र २०२१ मा नगण्यमात्रामा पर्यटक आए पनि सन् २०२२ को सेप्टेम्बरदेखि पर्यटक आवागमनमा सुधार हुँदै आएको थियो’, गुरुङले भने, ‘सन् २०२१ मा पर्यटकको सङ्ख्या ह्वात्तै बढेर आएको छ ।’ उनका अनुसार अहिले भने ‘अफसिजन’ भएका कारण दैनिक १० देखि २० जनासम्म ‘इन्ट्री’ भइरहेका छन् । असार अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान जस्तै बनेको उनले बताए । यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्