काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार परिसरमा राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ ।
विमानस्थल भन्सार परिसरमा थप सुन रहेको आशंकासँगै विभागले विशेष अप्रेशन जारी राखेको स्रोतले बताएको छ।
विशेष अप्रेशनका लागि विभागका महानिर्देशक नवराज ढुंगाना आफैं विमानस्थल परिसरमा पुगेका छन् । विभागमा कार्यरत सबै कर्मचारीहरुलाई बाहिर निकालेर थप सुनको खोजी भइरहेको बताइएको छ।
भन्सार परिसरमा अझै पनि गाडीका पार्टपुर्जा र उस्तै प्रकृतिका सामान रहेकाले उक्त सामानको परीक्षण भइरहेको छ।
बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।
बरामद भएको सुन १ सय केजी भनिए पनि सुनको परिमाण एकिन भइसकेको छैन। सुनको एकिन परिमाण थाहा पाउन विभागले सुन जोख्न राष्ट्र बैंक पठाइएको छ।
विभागले यस प्रकरणमा संलग्न भरिया र ट्याक्सी चालक तथा भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्