सप्तरी । तीन दशकपछि सप्तरीको कठौना–पातो सडकखण्डमा कालोपत्रे हुँदैछ। झण्डै १८ किलोमिटर दक्षिण पातोदेखि उत्तर राजमार्गको कठौना बजारसम्मको सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो। उक्त मार्गमा सुरु गरिएको कालोपत्रे आगामी असोज–कात्तिकभित्र सम्पन्न हुनेगरी कार्यको शुभारम्भ भएको सप्तरी क्षेत्र नं ३ का सांसद दिनेशकुमार यादवले बताए।
नेपाली कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका सांसद यादवकै पहलमा सङ्घीय सरकारबाट प्राप्त ७० करोड ४० लाखको बजेटबाट अहिले सडकमा कालोपत्रे भइरहेको छ। सडक कालोपत्रे भएसँगै जनताले भोग्दै आएको सास्ती अन्त्य हुने सांसद यादवको भनाइ छ। उनले शम्भुनाथ, बनैनिया, पथ्थरगाढा र गाईघाट जोड्ने सडकको निर्माण कार्य पनि सुरु हुने जानकारी दिए।
कान्छाराम कन्ट्रक्सनमार्फत उक्त सडकमा कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ। केही मात्रामा ग्राभेल गरी अलपत्र छाडिएका उक्त सडकखण्ड वर्षामा हिलाम्मे र सुक्खायाममा धुलाम्मे हुँदा सर्वसाधारण कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए।
प्रतिक्रिया दिनुहोस्