कैलाली । कैलालीको चुरे पहाडसँग जोडिएको गोदावरी नगरपालिका–१२ मा रहेको रातोपानी सामुदायिक वनमा पछिल्लो समयमा फडानी गरिएको छ । सामुदायिक वनका अध्यक्ष कैलाश विकसहितका पदाधिकारी, केही वनका कर्मचारीको मिलेमतोमा वन फडानी भएको आरोप स्थानीयवासीले लगाएका छन् ।
फडानीमा संलग्न भएको आरोपमा वन उपभोक्ता समितिका सदस्य कर्णबहादुर विक र टेकराज ओझालाई स्थानीयले पक्राउ गरी वन कार्यालयमा बुझाएका छन् । यी दुईसहित १२ जनाविरुद्ध वन मुद्दा दर्ता गरिएको डिभिजनल वन कार्यालय कैलालीका सूचना अधिकारी डबलबहादुर बोहराले बताए ।
“रातोपानी सामुदायिक वन क्षेत्रबाट तीन सय क्युफिट सालको काठ बरामद गरिएको छ, १६ रुख काटिएको फेला परेको छ”, उनले भने , “वनका कर्मचारीको समेत वन फडानीमा मिलेमतो भएको कुरा चलेपछि डिभिजनल वन अधिकृत भीमप्रसाद ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।”
काठ तस्करी गर्नेले सालका हरिया र सुकेका रुख काटेर वनभित्रै चिरान गरेर सःमिललाई काठ बेच्ने गरिएको स्थानीयको भनाइ छ । चुरे पहाडी क्षेत्रसँग जोडिएको यो सामुदायिक वन चुरेको महत्त्वपूर्ण भावर हो । यो वनमा भइरहेको फडानी र तस्करी रोक्न स्थानीयले पटक–पटक वन कार्यालयसँग आग्रह गर्दा पनि चासो नराखिएपछि फडानीमा संलग्न हुनेलाई उपभोक्ताले स्वयं पक्राउ गरी वन कार्यालयको जिम्मा लगाएका हुन् ।
वन फडानीसँगै तस्करले बँदेल, चित्तललगायतका वन्यजन्तुको सिकारसमेत गर्ने गरेको स्थानीयको भनाइ छ । सामुदायिक वनका अध्यक्षको प्रत्यक्ष संलग्नतामा वन फडानी भएको आरोप लगाउँदै स्थानीय उपभोक्ताले उनको राजीनामा समेत माग गरेका छन् । वनका अध्यक्ष विकले वन फडानीको विरोध गर्दै आएका भनिएका समितिका सदस्य केशवराज जोशी र पदमराज जोशीलाई पदबाट हटाएर करन विक र ललिता ओडलाई सदस्य नियुक्त गरेको बताइएको छ । कैलाली जिल्लामा विगतदेखि नै सुकुम्बासी, मुक्तकमैया, बाढीपीडितका नाममा वन क्षेत्रको जग्गा अतिक्रमण हुने गरेको बताइएको छ ।
“खासगरी जिल्लाका मुख्य सडक र सहायक सडक आसपासको वन क्षेत्र अतिक्रमण गर्ने प्रवृत्ति छ”, सूचना अधिकारी बोहराले भने , “कतिय ठाउँमा वन उपभोक्ता समितिका पदाधिकारी स्वयं अतिक्रमणमा लाग्दा अतिक्रमण रोकथाम गर्न समस्या भइरहेको छ ।”सामुदायिक वनको अवधारणा कार्यान्वयनमा आएसँगै विगतमा फडानीले उजाड बनेका धेरैजसो वन क्षेत्र भने उपभोक्ता आफैँ संरक्षणमा अग्रसर हुँदा हराभरा भएका पनि छन् । तर कतिपय वनमा सम्बन्धित उपभोक्ता जागरुक नहुँदा वन संरक्षण हुन नसकिरहेको बताइएको छ ।
डिभिजनल वन कार्यालयले गोदावरी नगरपालिकाको पूर्वपश्चिम सडक छेउको वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा हटाई वन क्षेत्रको संरक्षण गरेको छ । यस्तै चुरे गाउँपालिका–४ को दुई ठाउँमा भएको अतिक्रमणा पनि हटाएको छ । गएको एक वर्षमा जिल्लाभरिमा एक सय १५ हेक्टर वन क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ । आगामी दिनमा जैविक विविधताका दृष्टिमा जिल्लामा महत्त्वपूर्ण मानिने वसन्ता अन्तर्राष्ट्रिय जैविक मार्गमा भइरहेको अतिक्रमण हटाउने योजना डिभिजनल वन कार्यालयको छ । कैलारी गाउँपालिकाको वडा नं ५ र ७ को वसन्ता वन क्षेत्रमा अतिक्रमण भइरहेको बताइएको छ ।
यस्तै गोदावरी नगरपालिकाको भ्यागुतेपानी, खाँनीडाँडालगायतका क्षेत्रमा भएको अतिक्रमण हटाउने योजना कार्यालयको छ । एक तथ्याङ्कका अनुसार जिल्लामा कुल क्षेत्रफलको झन्डै ६३ प्रतिशत भू–भागमा वन क्षेत्र रहेको छ । योमध्ये झन्डै २१ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा रहेको जनाइएको छ । जिल्लाभरि तीन सय २९ सामुदायिक वन छन् । यसै बीच प्रदेशका पर्यटन, उद्योग वन तथा वातावरणमन्त्री रमेशसिंह धामीको नेतृत्वको टोलीले फडानी भएको रातोपानी सामुदायिक वन क्षेत्रको स्थलगत अनुगमन निरीक्षण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्