धरान । पछिल्लो डेढ महिनायता धरानमा डेंगु संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने झन्डै दुई हजार जना संक्रमित भएका छन् । जेठ तेस्रो सातायता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जना डेंगु संक्रमितको मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार मृतक एक जना बाहेकमा उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग पनि देखिएको थियो । यता धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाको तथ्यांकमा भने हालसम्म धरानमा एक जना मात्र डेंगुको संक्रमणबाट मृत्यु भएको उल्लेख छ।
डेंगु फैलिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक सातादेखि सातै दिन सञ्चालन हुने गरी छुट्टै निःशुल्क क्लिनिक सञ्चालन गरेको छ। क्लिनिकमा परीक्षण गराउने र परामर्श लिनेको चाप बढेका छन् । उपमहानगरपालिकाले ६ सय थान र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक हजार थान किट उपलब्ध गराएपछि निःशुल्क डेंगु परीक्षण र उपचार सेवा दिइएको छ ।
असार २९ देखि साउन ४ गतेसम्म क्लिनिकमा ६ सय ३८ जनाको डेंगुको परीक्षण गर्दा ४ सय ६५ जनामा संक्रमण पाइएको छ। तीमध्ये करिब १० प्रतिशतको सेन्ट्रल इमर्जेन्सी कक्षमा थप उपचार गरिएको छ । क्लिनिकमा आउने बिरामीमध्ये १५ प्रतिशत बालबालिका छन् । उता केही सातायता प्रतिष्ठानको आकस्मिक कक्षका ४० प्रतिशत शैया पनि डेंगु संक्रमितले भरिएका छन् । यहाँ दैनिक ३० देखि ४० जना इमर्जेन्सीमा भर्ना हुने गरेका छन्। शैया अपुग भएपछि ट्रली र ह्विलचेयरमा राखेर उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्