काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिनाको आरोपमा पक्राउ परेकामध्ये अधिकांशको बयान सकिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका १९ जनामध्ये अधिकांशसँग सोधपुछ गरिसकिएको हो ।
सीआईबीले यस प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ, भौतिक योजना तथा निर्माण मन्त्रालयका सिडिई बालकृष्ण श्रेष्ठ, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुखहरू रमेशकुमार पोखरेल, देवनारायण महर्जन, लोकहरि घिमिरेलाई हिरासतमा लिएर अनुसन्धान गरेको छ ।
त्यसैगरी तत्कालीन नापी सर्वेक्षक घमानकुमारी कार्की, बाबुप्रसाद अर्याल, नक्कली मोही बाबुराजा महर्जन, डिल्लीबजार मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल, तत्कालीन खरिदार नारायणदास मिश्र, समरजङ्ग कम्पनीका सहलेखापाल विनोद पौडेल, बिचौलिया केशव तुलाधरलाई हिरासतमा राखेर बयान लिएको छ । यी अभियुक्तहरु मध्ये सबैको बयान लगभग सकिएको सीआईबीले जनाएको छ ।
सर्वोच्च अदालतले गत शुक्रबार यो प्रहरणमा मुछिएर पक्राउ नपर्नका लागि पाएको अन्तरिम आदेशसमेत खारेज गरिदिएको थियो । उक्त आदेश खारेज भएसँगै सीआईबीलाई आरोपितहरुलाई पक्राउ गर्न बाटो खुलेको छ । सर्वोच्चले शुक्रबार नै संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई भने थुनामुक्त गर्न आदेश दिएको थियो ।
असार १२ गते पक्राउ परेका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन अधिकृतहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीले अन्तरिम आदेश लिएकाले उनीहरुलाई सोही दिन छोडिएको थियो । अब भने सीआईबीले उनीहरुलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।
ब्यूरो श्रोतका अनुसार बयान दिने अधिकांशले ललिता निवासको जग्गा हिनामिनामा आफूहरुको संलग्नता अस्वीकार गरेका छन् । प्रहरीले यस प्रकरणको अनुसन्धान सकेर आगामी भदौ ११ गतेभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउनुपर्नेछ । सङ्गठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीलाई यस प्रकरणमा अनुसन्धान गर्न ६० दिनको हदम्याद हुन्छ ।
प्रतिक्रिया दिनुहोस्