काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने संसद बैठक अवरोध गर्ने तयारी गरेको छ । विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेको माग छ ।
यसकै तयारीका लागि एमालेले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने संसद बैठकको तयारीको लागि एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका मुख्य सचेतक पदम गिरीले बताए । ‘हामीले १२ बजे संसदीय दलको बैठक बोलाएका छौं । त्यही बैठकले आवश्यक निर्णय गर्छ,’ उनले भने, ‘सुन प्रकरणमा हामीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छौं । यस प्रकरणमा उहाँको कमजोरी देखिएको छ ।’
गत मंगलबार त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको थियो । घटनाबारे भने बुधबार सार्वजनिक भएको हो । उक्त प्रकरणमा १० जना पक्राउ परेका छन् । यही प्रकरणलाई लिएर एमालेका नेताहरूले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताउदै आएका छन् । एमालेको भ्रातृ संगठन, युवा संघ नेपालले गृहमन्त्री श्रेष्ठविरूद्ध प्रदर्शनसमेत गरेको थियो ।
एमाले अध्यक्ष केपी ओलीले सोमबार राति कम्बोडियाबाट फर्किने क्रममा सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका थिए । अध्यक्ष ओलीले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको समेत बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्