Ads

‘मुन्द्रेको गाईजात्रा’ ल्याउने जितु नेपालको तयारी


काठमाडौं । अभिनेता तथा कमेडियन जितु नेपालले गाईजात्रा आउन एक महिनाको समय बाँकी रहँदादेखि नै गाईजात्रा योजना सार्वजनिक गरेका छन् । भदौ १४ गते गाईजात्रा पर्व मनाइँदैछ । हास्य कलाकार अहिल्यैदेखि गाईजात्राको तयारीमा कस्सिएका छन् ।

‘मुन्द्रेको गाईजात्रा’लाई घरमै बसेर दर्शकले निःशुल्क हेर्न पाउने उनले जानकारी दिएका छन् । फेसबुकमा यसबारे पोस्ट गर्दै उनले भदौ १० देखि १६ गतेसम्म आफूले सञ्चालन गर्ने गाईजात्रा रंगमञ्चमा नभएर ‘जितु कमेडी’ युट्युब च्यानलमा हेर्न सकिने उनको भनाइ छ । एक सातासम्म गाईजात्रा प्रस्तुति दिने जितुको तयारी छ । उनले यो गाईजात्रामा जोडिन दर्शक र विदेशस्थित नेपालीलाई आग्रह गर्दै कला, संस्कृति र परम्परालाई जोगाउने उद्देश्य रहेको उल्लेख गरेका छन् ।

यसपटक मुलुकको समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धन, पुराना दलहरुको स्थिति, नयाँ दल, चुनाव ताका देखिएको परिवर्तन, जनताको चाहना लगायतका मुद्दालाई गाईजात्राको विषयवस्तु बनाउने जितुको योजना छ । ‘देशमा भएका घटना नै हाम्रो गाईजात्राका कन्टेन्ट हुनेछन्,’ जितुले भने ।

जितुसहित उनको टिमले गाईजात्राको प्रस्तुति दिने भएको छ । कमेडी क्लबको टोलीले उनीसँग सहकार्य गर्दैछ । यसअघि तीते जिरे मेरी बास्सै गाईजात्रा प्रज्ञा प्रतिष्ठानमा गरिएको स्मरण गर्दै उनले कोरोना र अन्य कारणले निरन्तरता दिन नसकिएको पनि बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू