Ads

६ दशक देखिको पर्खाई, निर्माणमा ढिलाई


इलाम \ २०२१ सालमै झापाको शनिश्चरे हुँदै मोटर इलाम आएको गोरेटो मेची राजमार्ग खुल्नुअघि पैदल झापा झर्ने एक मात्र विकल्प थियो । यही मार्गलाई पच्छाएर मेची करिडोरको परिकल्पना गरिएको हो । माई नगरपालिकाको लोदिया खोलाभन्दा माथि मात्र पहिलो वर्ष ३५ करोड, दोस्रो वर्ष ३० करोड विनियोजन भएकामा यो वर्ष साढे ४ करोड रुपैयाँ मात्र छ । अहिलेसम्म भइरहेको ठेक्का रकमको दायित्व भने ४२ करोड रुपैयाँ पुगेको छ ।

६ दशक देखिको पर्खाई बनेको यहि मेची करिडोरको निर्माण सुस्त बनेको छ ।  नेपालकै होचो भू-भाग केचनाकवलदेखि विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा जोड्ने १९० किलोमिटर यो करिडोर निर्माणकार्यमा देखिएको ढिलाइसँगै पर्याप्त बजेटसमेत निकासा नहुँदा आयोजना कहिले पूरा हुने भन्ने अन्योल थपिएको छ ।

मेची राजमार्ग भएर इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड पुग्न ६१ वटा घुम्ती छिचोल्दै ८३ किलोमिटर पार गर्नुपर्छ । तराई झर्न द्रुतमार्ग मानिएको करिडोरको इलाम-बिर्तामोड खण्डको जम्मा दूरी ४८ किलोमिटर छ ।

इलाम खण्डको माई नगरपालिका क्षेत्रको करिब १२ किलोमिटर खण्ड कालेपत्रे भइसकेको छ । बाँकी २० किलोमिटर क्षेत्रको ठेक्का लागेर काम भइरहे पनि ढिलो भएकाले इलामसहित पूर्वी पहाडी जिल्लाका बासिन्दा निराश बनेका छन् ।

‘पोहोर ३० करोड थियो तर यसपालिको साढे ४ करोड छ । तर हामीले अहिलेसम्मको ठेक्का नै लगाइसकेको अवस्था ४२ करोडको अवस्था छ,’ डिभिजन सडक कार्यालय इलामका इन्जिनियर राजेश यादवले भने ।

करिडोरको विभिन्न खण्डमा काम भइरहेको छ । कठिन भूगोल रहेको मेची राजमार्गको भञ्ज्याङदेखि बेलासेसम्मको झन्डै १० किलोमिटर खण्डको काम ३५ प्रतिशत मात्र भएको डिभिजन सडक कार्यालयको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू