काठमाडौं । कोशी प्रदेशमा सत्ता संकट निम्तिएसँगै विभिन्न प्रश्नहरु उब्जिएका बेला नेकपा (एमाले)को प्रदेश संसदीय दलको नेतासमेत रहेका हिक्मतकुमार कार्कीले आजदेखि सरकारको नेतृत्व सम्हाल्ने भएका छन् ।
सर्वोच्च अदालतको बिहीबारको आदेशसँगै गठबन्धनको तर्फबाट असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापाको नियुक्ति अवैधानिक भएसँगै कार्कीले नै मुख्यमन्त्रीको रुपमा कार्यभार सम्हाल्ने भएका हुन् ।
श्रोतका अनुसार कार्कीले आज केही बेरमै विराटनगर विमानस्थलमा पत्रका। सम्मेलनको आयोजना गर्नेछन् भने त्यस लगत्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गएर पूर्ववत जिम्मेवारी सम्हाल्नेछन् ।
साउन १७ गतेसम्म कामचलाउ मुख्यमन्त्रीको हैसियतमा रहने कार्कीले सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, कृषि र पूर्वाधार मन्त्री भक्ति सिटौला र सिँचाइ र स्वास्थ्य मन्त्री लकुमार मेयाङ्बोसहितको मन्त्रिपरिषद्बाट काम कारबाही अगाडि बढाउने बुझिएको छ ।
असार २१ गते मुख्यमन्त्री बनेका थापाको नियुक्ति नै अवैधानिक बाटोबाट भएको ठहरसहित सर्वोच्चको पूर्ण इजलासले बदर गरेपछि कामचलाउ सरकारको जिम्मा कार्कीले पाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्