काठमाडौँ । नेपाली चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । फिल्म उपत्यका तथा मोफसलका केही हलमा तेस्रो सातामा प्रवेश गर्न सफल भएको हो । निर्माण युनिटले केही दिन अगाडि फिल्मको ७० लाख ग्रास कलेक्शन रिपोर्ट सार्वजनिक गरेको थियो । हालसम्म फिल्मले एक करोड नजिकको ग्रस कलेक्शन गरेको बताइएको छ ।
अभिनेता सरोज खनालले निर्देशनमा डेब्यु गरेको चलचित्र ‘बगान’मा एकल आमाका सन्तान हुर्कदै गर्दा कस्तो मानसिक अवस्थाबाट गुज्रन्छन् भन्ने कुरालाई गहकिलो बनाएको छ । ‘बगान’ मार्फत एकल महिलाको नयाँ जीवन सुरुवातको बाटोमा आउने थुप्रै अवरोधहरू देखाइएको छ । एकल आमाको भूमिकामा देखिएकी करिश्मा मानन्धर र उनकी हुर्कंदै गरेकी एक्लो सन्तान प्राप्ति ९प्रमिला कार्की०ले गरेको मानसिक द्वन्द्वको कथा हो बगान । एक्ली आमाले सन्तानका लागि गर्ने संघर्ष, सन्तानको मुख हेरेर हरेक अफ्ठ्यारो परिस्थितिसँग लडेर आफूलाई उठाएको यो नौलो कथा भने होइन । तर, सरोजले यो कथालाई भावुक शैलीले पस्किएका छन् । प्राप्तिका बुबाले उनी सानै हुदा आत्महत्या गर्छन् ।
बुबाले किन आत्महत्या गरे, छोरीलाई थाहा छैन । उनले आफ्ना पिताले श्रीमतीप्रति निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गरेको पनि देखेकी छैनन् । तर आमाले मृत्यु भइसकेका श्रीमानका नाममा भोगेको दुख देखेकी छन् । उनलाई हुर्काउन आमालाइ दुख भएको महसुस गरेकी छिन्। श्रीमानको मृत्युपछि पढेर सक्षम भएर जागिरमा स्थापित भएकी प्राप्तिले आमालाई एक्लोपनले भित्रभित्रै खाएको बुझेकी छिन् । त्यसैले उनी आफ्नो भन्दा पहिला आमाको विवाह गराइदिन चाहन्छिन् । ‘बगान’ आमाको बिहेका लागि एउटी छोरीले गरेको संघर्षको कथा हो ।
हाम्रो समाजले अझै पनि एकल महिलाको पुनः विवाहको लागि स्वीकार गर्दैन । समाजको प्रतिनिधि पात्रका रुपमा देखिएका नीर शाह आफ्नो भूमिकामा छन् । पहिलो पटक फिल्ममा देखिएकी प्रमिला आफ्नो भूमिकामा राम्रो देखिएकी छिन् । सरोजले आफूलाई निर्देशकका रुपमा पनि स्थापित गर्ने कोसिस गरेका छन् । फिल्ममा थोरै भूमिकामा देखिने आकाश श्रेष्ठ आफ्नो भूमिकामा राम्रो छन् । खासमा उनले समाज रुपान्तरणका लागि मानिसको सोचमा परिवर्तन हुनु जरुरी छ भन्ने सन्देश दिएका छन् । थोरै देखिएर पनि दर्शकले सम्झिने पात्र बनेका छन् आकाश ।
करिश्मा आफैंले यो फिल्म अभिनयका हिसाबले आफ्नो करिअरकै राम्रो भनेकी छिन् । फिल्मका कतिपय संवादले मुटु छुन्छ, केही दृश्यले दर्शकका आँखा भरिदिन्छन् । हाम्रो समाजमा रहेका हरेक मानिसले एकचोटी हेर्ने पर्ने चलचित्र भित्र पर्छ बगान । यो चलचित्रले समाजमा रहेका हरेक मान्छेको सोच परिवर्तन गर्न मद्दत पुर्याउने छ । समाजमा रहेका हरेक एकल महिलालाई आफु सक्षम भएर बाच्नको लागि प्रेरणा दिन्छ । एकल महिलाले पनि आफु सक्षम भएर आफ्नो परिवार राम्रोसंग राख्न सक्छ भन्ने संदेश यो चलचित्रले दिन्छ ।
स्वप्निल नीरवको कथामा आधारित रही निर्माण गरिएको हो फिल्म । फिल्ममा करिश्मा मानन्धर, मिथिला शर्मा, नीर शाह, प्रमिला कार्की, सरोज खनाल, लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म निर्माणमा सुरेश वाग्ले र विनोद मानन्धरले सहकार्य गरेका छन् । गौरीशंकर धुजुको डीओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भीएफएक्स रहेको फिल्ममा रेनिस फागोको कलर करेक्सन रहेको छ । ब्याकग्राउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुसालको संगीत रहेको फिल्मका गीत अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीले गाएका छन् ।
प्रतिक्रिया दिनुहोस्