बागलुङ–बागलुङको अधिकांश ग्रामीण क्षेत्र जङ्गलसँग जोडिएका छन् । जङ्गल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ ।
हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गर्छ भने बर्खामा बारीमा लगाएका मकै, भटमासलगायतका बाली नष्ट गरिदिन्छ । यतिबेला किसानमा बारीमा भर्खर मकैले घोगा निकाल्न थालेका छन् । बारीको अधिकांश छेउछाउमा स–साना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रोमा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन् ।
उनीहरु यी छाप्रामा मकै, भटमास र कोदो बाली नभित्र्याउँदासम्म बस्ने गर्छन् । एकैछिन बाहिर गए आउने बेला बारीमा मकै नरहने हुँदा किसान दिनभरि बारी छेउमै बस्न बाध्य छन् । यो बेला किसानका लागि कामको चटारो हुने समय भए पनि बाँदर धपाउनका लागि कुरुवा राख्नुपर्ने बाध्यतामा उनीहरू छन् । जिल्लाको धेरै स्थानमा रातो बाँदर पाइन्छन् भने केही स्थानमा सेतो प्रजातिका बाँदरले पनि आतङ्क मच्चाउने गरेको कृषकले गुनासो गर्दै आएका छन् । हरेक वर्ष बाँदरले लाखौँको खाद्यबाली नष्ट गरिदिने गरेको पाइन्छन् । तर बाँदर नियन्त्रणका लागि स्थानीय पालिकाले कुनै नीति नल्याउँदा किसान निराश छन् ।
प्रतिक्रिया दिनुहोस्