भोजपुर : भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ। बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या परेका हुन्।
मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि उनीहरू हैरान छन्। बाँदरको कारण जिल्लाका अधिकांश भू–भागका स्थानीयले समस्या भोग्दै आएका छन्। धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदासमेत दुःख दिने स्थानीय बताउँछन्। बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्ज्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीय बासिन्दाको भनाइ छ।
बाँदर नियन्त्रणको लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका–४ दलगाउँका तीर्थबहादुर प्रधानले बताए। बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने अबको ८/१० वर्षमा धेरै बस्ती खाली हुने उनको भनाइ छ। ‘बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ’, प्रधानले भने, ‘बाँदरको समस्या धेरै नै छ। नियन्त्रणमा ध्यान नदिने हो भने धेरै बस्ती खाली हुने अवस्था छ।’
प्रतिक्रिया दिनुहोस्