बिराटनगर\ ३ साता पछिनै दोश्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान १० बजे सपथ ग्रहण गराउने कार्यक्रम छ ।
सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका नेपाली काँग्रेस कोशी संसदीय दलका नेता थापा पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दावी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेकोले गठबन्धनसँग बहुमत अर्थात ४७ सांसद छन् । गठबन्धनको सरकार बनाउन सभामुख गौतमले पदबाट राजीनमा दिएका थिए ।
तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, साउन ११ गते संविधान मिचेर थापाको नियुक्ति भएको भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति खारेज गरिदिएको थियो । थापा नेतृत्वको सरकार २२ दिनमै बर्खास्त भएकोमा पुनः थापालाई नै मुख्यमन्त्रीको रुपमा गठबन्धनले अगाडि सारेको हो । झापा घर भएका थापा प्रदेशसभामा समानुपातिकतर्फका सांसद हुन् ।
कोशी प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् । सरकार गठनको लागि सभामुखले राजीनमा दिएपछि गठबन्धनले सहज बहुमत जुटाएको भएपनि विश्वासको मत लिन भने सहज देखिएको छैन ।
सरकार गठन भएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
अस्थिरतानै मुख्य चुनौती
नवनियुक्त मुख्यमन्त्री थापाले प्रदेशको राजनीतिक अस्थिरता नै अहिलेको मुख्य चुनौती भएको बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि बाहिरिने क्रममा उनले आफूहरूको पहिलो प्राथमिकता राजनीतिक गतिरोध हटाउनु भएको बताए ।ूअब हाम्रो कोसी प्रदेशको राजनीतिन नै यस्तै भयो । संसदीय अंक गणितका कारण प्रदेशमा सधैँ नै अब यो अवस्था छ,ू उनले भने ।
विश्वासको मत लिन चुनौती कायमै
सभामुख गौतमले राजीनामा दिइसकेकाले ९३ सदस्यीय प्रदेशसभामा अहिले सत्तापक्षसँग बहमुत (४७ मत) छ । तर विश्वासको मत लिने बेलासम्म यो अवस्था रहन्छ भन्नेमा प्रश्न छ । किनकी एमालेले सत्तारुढ गठबन्धनलाई अप्ठ्यारो पार्न उपसभामुख सिर्जना दनुवारलाई राजीनामा गराउने छलफल सुरु भएको छ ।
मुख्यमन्त्री थापाले विश्वासको मत नपाए संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्न सक्छन् । त्यो अवस्था ल्याउन पनि एमालेले उपसभामुखलाई राजीनामा गराउने सम्भावना छ ।
यद्यपि एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी भने उपसभामुखले राजीनामा नदिने बताउँछन् ।
उपसभामुखले राजीनामा दिए वा बैठकमा उपस्थित नभए ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । प्रदेशसभामा ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल छन् । कांग्रेसका एक नेता मण्डललाई मन्त्री बनाएपछि ज्येष्ठ सदस्य एमालेका प्रदेशसभा सदस्य हुने बताउँछन् । तर एमालेले आफ्ना ज्येष्ठ सदस्यलाई अनुपस्थित गराए बैठकको अध्यक्षता सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले गर्नुपर्ने हुन्छ ।
यो अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था नरहने गठबन्धनमा रहेका दलका नेताहरु बताउँछन् । किनकी मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइने प्रदेशसभा बैठकको अध्यक्षता सत्तापक्षकै ज्येष्ठ सदस्यले अध्यक्षता गर्नुपर्ने अवस्था आएमा प्रस्तावको पक्ष र विपक्षमा बराबर मत परेमा मात्र उनले मत दिन पाउँछन् ।
प्रतिपक्षी दलले आफ्ना एक जना प्रदेशसभा सदस्य मात्र अनुपस्थित गराए पनि अध्यक्षले निर्णयक मत दिन नपाउने अवस्था बन्ने छ ।
प्रतिक्रिया दिनुहोस्