काठमाडौ \ पछिल्लो समय नेपालमा चिनियाहरुको आकर्षण उच्च हुँदै गएको देखिएको छ । चिनिया आकर्षण बढेसँगै नेपाल भ्रमण गर्नेहरुको संख्या पनि बढि रहेको छ । नेपालमा अन्य देशका पर्यटकहरु न्युन हुनेन समयमा समेत चिनियाहरुको संख्या बढेको छ ।
सन् २०२३ को पहिलो ६ महिना (जुन)सम्म भारतीय नागरिकपछि दोस्रो स्थानमा अमेरिकी पर्यटकको आगमन थियो । सातौं महिना (जुलाई)मा भने चिनियाँ नागरिक दोस्रो स्थानमा उक्लिएका छन् ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जुलाई २०२३ मा कुल ५७ हजार ७२६ जना पर्यटक नेपाल आएका छन् । त्यसमध्ये भारतीय मात्र २१ हजार ३५७ जना आएका छन् । दोस्रो स्थानमा चिनियाँ नागरिक छन् । उनीहरुको संख्या ५ हजार ५९३ जना छन् । अमेरिकी पर्यटकको संख्या ५ हजार ५६१ जना रहेको बोर्डले जनाएको छ ।
नेपालमा जुन, जुलाई र अगस्ट पर्यटकीय सिजनका दृष्टिकोणले ‘अफसिजन’ मानिन्छन् । सोहीकारण युरोप र अमेरिकी पर्यटक आगमन समेत यो मौसममा घट्ने गरेका छन् । नेपालको छिमेकी मुलुक भारतमा यो समय अधिक गर्मी हुने भएकाले यो मौसममा धेरै भारतीय नेपाल आउने गरेका छन् ।
अघिल्लो महिना चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक चार्टर्ड उडान भएको थियो । त्यसपछि भने पोखरामा उडानले निरन्तरता पाउन सकेन । अहिले काठमाडौंलाई भारतीय भन्दा धेरै चिनियाँ शहरमा हवाई यात्राले जोडेको छ । यसले भने चिनियाँ पर्यटक बढाउन भूमिका खेलेको व्यवसायीको भनाइ छ ।
जुलाई २०२३ मा सार्क मुलुकबाट मात्र कुल पर्यटकको ५० प्रतिशत हाराहारी पर्यटक आगमन भएको तथ्यांकमा देखिएको छ । भारतबाट २१ हजार ३५७, बंगलादेशबाट २६ सय ९६ जना, भुटानबाट ८०७ जना, श्रीलंकाबाट ४८४ जना र पाकिस्तानबाट ३७२ जना पर्यटक यो महिनामा नेपाल भ्रमणमा आएका छन् ।
एसियाका अन्य मुलुकमध्ये चीनपछि दक्षिण कोरियाबाट १३ सय ७५ जना पर्यटक आएका छन् । युरोपेली मुलुकमध्ये सबैभन्दा धेरै ३ हजार ६३० जना बेलायती पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट १ हजार १०२ जना नेपाल आउँदा क्यानडाबाट ६५३ जना नेपाल आएको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्