Ads

तलब खर्च गरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा


खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका ५२३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको उपप्रमुख राईले बताए ।

सुपर नेपियर, स्मार्ट नेपियर, रेड नेपियर र बङ्गाली रेड नेपियर तथा वडा नं ३ बाम्राङबाट खरिद गरिएको अम्लिसो जातको घाँसका बिरुवा निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले जानकारी दिए। पशुपालनलाई व्यावसायिक बनाउन नगरपालिकाबाट यो आर्थिक वर्षका लागि एक करोड रुपैयाँ बजेटसमेत विनियोजन गरेको नगर उपप्रमुख राईले बताए।

‘निर्वाहमुखी पशुपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन यो वर्ष भैँसी र बाख्रामा अनुदान दिने योजना बनाएका छौँ। पशुपालनमा लगानी गरेर मासु र दूधजन्य पदार्थमा नगरपालिकालाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य छ’, उनले भने, ‘व्यावसायिक पशुपालनका लागि सम्भाव्यता अध्ययनसँगै किसानसँग भेटघाट गर्दै आफ्नै खर्चमा खरिद गरेर उन्नत जातको घाँसको बिरुवा निःशुल्क वितरण गरेको हुँ। यसले कृषकसमेत उत्साहित भएका छन्।’

पशुपालन तथा व्यावसायिक कृषिका लागि नगरपालिकाले यस आवमा ब्याज अनुदानस्वरुप किसानलाई चार करोड रुपैयाँ उपलब्ध गराउने गरी पहल थालेको जनाइएको छ । जिल्लास्थित विभिन्न बैंकसँगको सहकार्यमा नगरपालिकाले ब्याज तिरिदिने शर्तसहित नगरपालिका नै जमानी बसेर रकम उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

पन्ध्र वडा रहेको यस नगरपालिकाले पशु तथा कृषि व्यवसायका लागि पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रम बनाएर लागू गर्ने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ। कृषि उत्पादनलाई जोड दिने नीति लिएको नगरपालिकाले पशुपालनसँगै फलफूलका बिरुवा वितरण तथा विभिन्न नगदे बालीमा अनुदान दिँदै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको यस नगरपालिकामा अनुदान पाएका कतिपय कृषक व्यावसायिक भएका छन् भने कतिपयले काम नै नगरी अनुदान मात्र लिएको गुनासो आउने गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू