जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्थानीय सरकारसित समन्वय गरी विकास कार्यअघि बढाइने बताएका छन्। प्रदेश समन्वय परिषद्को बैठकमा उनले जनताकै लागि विकास गर्ने भएकाले प्रदेश सरकारले स्थानीय सरकारसित समन्वय गरेर अघि बढ्न चाहेको विश्वास दिलाए।
युवा र कृषिलाई जोडेर आएको बजेट एवं प्रदेशका योजना नियमन गर्न निरन्तर अनुगमन समिति सक्रिय बनाइने घोषणा पनि मुख्यमन्त्री यादवले गरेका छन्। प्रदेशको विकास कार्यमा देखा परेको अनियमित क्रियाकलापलाई नियमन गर्न दुई वटा गाडी निरन्तर अनुगमनका लागि खटाइने उनको भनाइ थियो ।
सो अवसरमा गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समीमले प्रदेश सरकार र स्थानीय निकाय मिलेर जानपर्ने बताए। उनले भने, “मिलेर जानुबाहेकको विकल्प छैन । हामी एकअर्काको परिपूरक हुनुपर्छ ।” निमित्त मुख्य सचिव किशोरकुमार चौधरीले योजनाहरू दोहोरिन नदिन बजेट अगावै परिषद्को बैठक जरुरी रहेको बताए।
कार्यक्रममा सिरहा जिल्ला समन्वय समितिका प्रमुख दिनेशकुमार महतो, बाराको कलैया नगरपालिकाका नगर प्रमुख विनोद साह, रौतहटको गौर नगरपालिकाका प्रमुख शम्भु साह, धनुषाका गणेशमान चारनाथ नगरपालिकाका उपप्रमुख तुलसाकुमारी पाण्डेय, महोत्तरीका गौशाला नगरपालिकाका उपप्रमुख रेनुकुमारी महतो, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिताकुमारी यादवलगायतले परिषद्को बैठक नियमित गर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस्